नेपाल सुपर लिग फुटबलको उपाधि ललितपुरले जित्यो

काठमाडौं, १४ पुस । काठमाडौंमा सम्पन्न दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार दशरथ रङ्गशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ गोलअन्तरले हराउँदै ललितपुरले उपाधि जितेको हो ।
ललितपुरको जीतमा इमो हजेकेलले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल गरे । धनगढीका लागि ओलावाले आफिज र अहमद हिजाजीले १-१ गोल गरे । पहिलो हाफ १-१ को बराबरीमा सकिएको भएपनि दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गर्दै ललितपुरले पुनरागमन जीत हासिल गर्न सफल भयो ।
खेलको ३७औं मिनेटमा ओलावाले आफिजले ट्याप इन गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । पहिलो हाफकै इन्जुरी समयमा इमो इजेकेलले फ्रिकिक मार्फत सिधै गोल गर्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफको ५०औं मिनेटमा दिनेश हेन्जनले गोल गरेपछि ललितपुरले खेलमा अग्रता लिएको थियो । त्यसको ७ मिनेटमा पुनः इजेकेलले शानदार गोल गर्दै टोलीलाई ३-१ ले अगाडि राखे ।
उपाधि जितेसँगै ललितपुर सिटी एफसीले नगद ७० लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेतामा सीमित धनगढी एफसीले २० लाख नगद, ट्रफी तथा मेडल प्राप्त गर्यो । अघिल्लो संस्करणको फाइनलमा पराजित धनगढी यसपटक पनि उपाधि जित्नबाट वञ्चित भयो ।
धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई हराएर सिधै फाइनलमा स्थान बनाएको थियो भने ललितपुरले इलिमिनेटरमा काठमाडौं रेजर्स तथा दोस्रो क्वालिफायरमा पोखरालाई स्तब्ध पार्दै फाइनलमा पुगेको थियो ।
लिग चरणमा पोखरा ४ जीत र तीन बराबरी सहित १४ अंक जोडेर शीर्षस्थानमा तथा धनगढी ३ जीत र ४ बराबरी सहित १३ अंक जोडेर दोस्रो स्थानमा रहेका थिए भने काठमाडौं ३ जीत र ३ बराबरी सहित तेस्रो तथा ललितपुर २ जीत र चार बराबरी सहित चौथो स्थानमा थिए । क्वालिफायरमा धनगढीसँग पराजित भएपनि पोखराले पाएको अर्को मौकामा ललितपुरलाई हराउन सकेन । साविक विजेता काठमाडौं ललितपुरसँग पराजित हुँदै इलिमिनेटरबाटै बाहिरियो ।
पहिलो सिजनको फाइनलमा काठमाडौंसँग १-० को हार व्यहोर्दै धनगढी उपाधिबाट वञ्चित भएको थियो ।

