कांग्रेस बागमती प्रदेश सम्मेलनमा सभापति देउवाले भने-‘राष्ट्र संकटमा छ’

काठमाडौ,७पुस।नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन शनिबार सम्पन्न भएको छ ।
सम्मेलन उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको र सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए।

सभापति देउवाले राष्ट्र संकटमा छ भनिरहेका बेला सोही कार्यक्रमका अर्का बक्ता महामन्त्री बिश्वप्रकाश शर्माले भने राष्ट्र संकटमा नभएको तर्क अगाडी सारे। सम्मेलनमा डा.शेखर कोइरालालाई निम्तो नै दिइएन भने अर्का महामन्त्री गगनकुमार थापा निम्तो पाएर पनि आएनन्।

सभामा बोल्दै सभापति देउवाले अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको पनि बताए।‘यतिबेला राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा संकटमा उभिएको छ। अहिलेको बेला हामी सबैले मिलेर अघि बढ्नुको विकल्प छैन’,-सभापति देउवाले भने-‘यो बेला कांग्रेसले नै नेतृत्वदायी भुमिकामा बसेर संकटको पार लगाउनुपर्छ ।’

उनले अगाडी भने-‘अहिलेको जुन समावेशी, समानुपातिक व्यवस्था गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था हामीले नेपालमा स्थापित गरेका छौँ यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। यद्यपि यो समानुपातिक समावेशीको कारणले सम्पूर्ण नेपालीहरू आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था स्थापित गरेका छौँ। यो वास्तवमा सबैको समावेशीतामा आधारित व्यवस्था हो।’

सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै यसलाई ग्रास लेभलबाटै पार्टीलाई पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्नुपर्नेमा पनि जोड दिए।

सोही कार्यक्रममा महामन्त्री शर्माले संघीयताका विरुद्ध हुने जुनसुकै हर्कतलाई रोक्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए।

बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले समय सापेक्ष पार्टीको बिधान परिवर्तन गरि युवालाई जिम्मेवारी दिनुपर्ने भन्दै एकै ब्यक्ति पटकपटक एउटै पदमा बस्न नहुने तर्क अगाडी सारे। उनले धर्मको बारेमा सोच्न सकिने तर हटाइएको राजा वा राजतन्त्रबारे सोच्न नसकिने पनि बताए।

सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य र यहाँबाट प्रतिनिधित्व गर्ने प्रदेश एवं संघीय सांसद र पार्टीका जिल्ला एवं क्षेत्रका सभापतिहरु सहभागी थिए।

प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति सहभागी सम्मेलनमा पार्टी केन्द्रिय उपसभापति धनराज गुरुङ,महामन्त्री बिष्वप्रकाश शर्मा,प्रवक्ता डा.प्रकाशशरण महत,केन्द्रिय नेताहरू प्रकाशमान सिंह,अर्जुननरसिंह केसी,प्रदिप पौडेल लगायत दुई दर्जन नेता सहभागी थिए।

त्यसैगरी नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति पनि कार्यक्रममा सहभागी थिए। भेलाले राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय