वर्तमान परिस्थिती र मन्त्री किराँतीको अभिव्यक्ति

कुमार राज सुवेदी

यतिबेला पर्यटन मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीको विवादास्पद अभिव्यक्ति बारे सार्वजनिक टिप्पणी र मिडिया बहस सुरु भएको छ। मेरो व्यक्तिगत सोचमा धर्म मुल रुपमा ज्ञान परम्परा,संस्कार र संस्कृति हो। यो व्यक्तिगत आस्थाको कुरा हो।

धर्म भनेको कसैले कसैलाई लाद्ने कुरा होईन। यो स्वस्फूर्त मान्न पाउने र मान्ने बिषय नै हो । यसमा धेरै बहस र टिप्पणी गरिरहनु पनि उचित होइन। नेपालको संविधानले धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको छ। सबैलाई आ-आफ्नो धर्म मान्ने र आस्था अवलम्बन गर्ने अधिकार छ। तर अरु माथि लाद्ने,धर्म परिवर्तन गराउने र अरु धर्म वा आस्था बिरुद्ध घृणा फैलाउने संवैधानिक र कानुनी अधिकार छैन। नेपालको बर्तमान संविधानले यस्ता कुरालाई पूर्णतः बन्चित गरेको छ।

अब अलिकति कुराको सन्दर्भ जोडाैं संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको हालै सार्वजनिक समारोहमा दिएको अभिव्यक्तिको । मन्त्री किराँतीले क्रिश्चियन धर्म अरुले स्वीकार गर्नै पर्ने, हैन भने कानुनी कारवाही हुन्छ भन्ने सार्वजनिक अभिव्यक्ती दिए। जिम्मेवार राजनीतिक दलको नेता समेत रहेका एकजना बहालवाला मन्त्रीले किन यो किसिमको अभिव्यक्ति दिनुभयो यो रहस्यमय छ।

यथार्थ कुरा गर्ने हो भने नेपालमा मूलरूपमा हिन्दु, बौद्ध र किराँत धर्म यहाँको माटोमा परापूर्व कालदेखि मानिँदै आएको धर्महरु हो। अरु धर्मको प्रवेश निकै पछि मात्रै भएको हो। त्यसमा पनि जनसंख्या वितरणका हिसाबले नेपाल हिन्दु धर्म बहुल देश हो। दोश्रो संविधान सभाले कुन बाध्यताले जनमत संग्रह नै नगरी करिब दुई तिहाई सनातन हिन्दु धर्मावलम्बी भएको देशमा धर्म निरपेक्षता कायम गर्‍यो ? यो प्रश्नको जवाफ पक्कै कुनै दिन भविस्यले नै दिनेछ।

तर, आज यो विषय जोडदार रुपले उठि राखेको छ। यो धर्म निरपेक्षताको विषय जनमत संग्रह मार्फत नै निरुपण गर्नु पर्ने विषय निश्चीत रुपमा हो। व्यक्तिगत रुपमा भन्ने हो भने म आफुलाई आधा हिन्दु र आधा बौद्धमार्गी मान्दछु र सबै धर्मको सम्मान गर्दछु। सबै धर्मको तत्व बुज्ने प्रयत्न गर्दछु र सर्व धर्म समभाव राख्दछु। साथै राज्य सबै धर्मको संरक्षक हुनुपर्दछ भन्ने मान्यता राख्दछु।राजनीतिमा धर्म जोड्नु हुन्न र धर्मलाई व्यक्तिगत आस्थाको बिषय मात्रै बनाउनु पर्दछ भन्ने बिचार राख्दछु।

पछिल्लो समय नेपालमा के बिघ्न हुन लागेर हो अनावश्यक ढंगले विवाद निकाल्ने, एक अर्काका धर्म र संस्कृति माथि धावा बोल्ने काम भइरहेको छ। देश भ्रष्टचार र कुशासनको दलदलमा फसेको छ।आर्थिक मन्दिको मार व्यहोरिरहेको छ। जनजीविका अत्यन्तै कष्टकर भइरहेको छ। आर्थिक संकटबाट पार लगाऊँदैं देशलाई समुन्नतिको दिशामा अघि बढाउन सम्पूर्ण ईच्छा शक्तिले लाग्नु पर्ने हो। तर ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भइरहेको छ।

लाग्दैछ देश मियो बिनाको दाईँमा रुमलिरहेको छ। यहाँ ठुला पदधारीहरु त धेरै छन तर सच्चा,योग्य र अभिभावक नेता नै छैनन । आज संस्कृति मन्त्रीको यस्तो अभिव्यक्ति आउँदा चुपचाप बस्ने हो वा यसबारे बहस र छलफल हुनुपर्ने हो ? यसको जवाफ नागरिकलाई कसले दिने ?

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय