जाउँ है पोखरा अभियान पश्चिम नेपालमा सम्पन्न

पोखरा, ५ पुस । आन्तरिक पर्यटन प्रबर्द्धनको मुख्य उद्धेश्यसहित गत मंसिर २९ गतेबाट पश्चिम नेपालमा सुरु भएको ६ दिने जाउँ है पोखरा अभियान उत्साहप्रद रुपमा सम्पन्न भएको छ ।
अभियान अन्तर्गत भैरहवा, नेपालगंज, धनगढी र महेन्द्रनगरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिएको थियो । ती कार्यक्रममा पर्यटन तथा उद्योग वाणिज्य क्षेत्रका व्यवसायीहरुको उत्साहप्रद रुपमा सहभागिता रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा संचालित अभियानमा ती दुई संस्था बाहेक नाट्टा, टान र संचार क्षेत्रको समेत प्रतिनिधित्व रहेको थियो । अभियानको क्रममा आयोजित कार्यक्रममा संघका अध्यक्ष सुवेदीले पश्चिम नेपालका वासिन्दालाई संघका तर्फबाट पोखरा भ्रमणको निमन्त्रणा प्रदान गरेका थिए । पोखराका पर्यटक पश्चिम पठाउने र पश्चिमबाट पर्यटक पोखरा भित्र्याउने उद्धेश्यलाई पूरा गर्न सिधा हवाई तथा स्तरीय वस सेवा जरुरत पर्ने विषयमा दुवै तर्फका व्यवसायीहरु एकमत भएका थिए ।
भैरहवामा आयोजित कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्न दुबै शहरका व्यवसायी मिलेर सरकारलाई संयुक्त दबाब दिन एकमत देखिएको आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । यसैगरी नेपालगंजमा आयोजित कार्यक्रममा सिमा नाकामा भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्ने क्रममा हैरानी व्यवहोर्नुपर्ने वातावरणको अन्त्य हुनुपर्ने विषयमा चर्चा भएको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए ।
धनगढीमा आयोजित कार्यक्रममा भने पोखरा र धनगढीविच विगतमा भएको सिधा हवाई सम्पर्क पुनःस्थापित गरिनुपर्ने विषयमा चर्चा भएको थियो । महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न पोखरा र महेन्द्रनगरविच मिलेर पर्यटकीय प्याकेज विकास गर्नुपर्ने विषयमा चर्चा भएको संघका सचिव पार्वती पाण्डेले सुनाइन् ।
कोभिड १९ र बैंकको चर्को ब्याजका कारण २५ प्रतिशत व्यवसायी यो क्षेत्रबाट पलायन भएको सुनाउँदै उनले विस्तारै अब पर्यटन लयमा फर्काउन आफूहरुले देशविदेशमा प्रबद्र्धनका कार्यक्रम जारी राखेको जानकारी दिए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालका वरिष्ठ अधिकृत कुन्दन अर्यालले बोर्डले निजी क्षेत्रसँग मिलेर नै पर्यटन प्रबद्र्धनका कार्यक्रम अगाडि बढाउँदै आएको स्मरण गराए । उनले नेपाल पर्यटन बोर्डको संरचना, गतिविधि र भूमिकाका बारेमा समेत अभियानको क्रममा प्रष्ट पारेका थिए ।

