त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोह आज हुँदै

काठमाडौं, २ पुस । त्रिभुवन विश्वविद्यालयले आज ४९औँ दीक्षान्त समारोह आयोजना गर्दै छ । बिहान साढे ११ बजेदेखि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा दशरथ रङ्गशालामा दीक्षान्त समारोह सुरु हुने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
दीक्षित हुने विद्यार्थीका लागि बिहान १० बजेदेखि नै रंगशालामा प्रवेश खुला गरिनेछ । आज १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेका छन् । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये आज झण्डै साढे १२ हजार विद्यार्थी दीक्षित हुन लागेका हुन्।
समारोहमा एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट आज विभूषित गर्ने तयारी छ। उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ।
एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने तयारी छ।

