बाजुरामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

बाजुरा, १ पुस । बाजुरामा आइतबार बेलुकी ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–२ मार्तडी गौमुल जाने सडकअन्तर्गत खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्काेलाई ओभरट्याक गर्दा दुवै ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टरले एक अर्काेलाई ओभरटेक गर्दा एउटा ट्याक्टर खोलामा खसेको छ भने अर्काे ट्याक्टर सडकको भित्तामा ठोक्किएर दुर्घटना ग्रस्त भएको छ।
सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खसेको छ। उक्त ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा तीन जना पुरूष र एक महिला छन्। मृतकको नामवली र ठेगाना आउन बाँकी छ।
यस्तै अर्काे लु ३ त ७३०५ नम्बरको ट्याक्टर पनि दुर्घटना भएर भित्तामा बजारिएको छ। सो ट्याक्टर दुर्घटनामा के कति क्षति भयो भन्नेबारेमा जानकारी प्राप्त हुन बाँकी छ। हाल प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले उद्धारको काम गरिरहेको छ।

