वीरगञ्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा

काठमाडौं, ३० मंसिर । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलमा पोखरा थन्डर्सले तेस्रो जित निकालेको छ । शनिबारको पहिलो खेलमा पोखराले वीरगञ्ज युनाइटेड एफसीलाई २ १ गोलअन्तरले हराउँदै प्लेअफ सम्भावना बलियो बनाएको छ ।
पोखराको जीतमा विदेशी खेलाडीहरु जोए एइडो र मोसेस ग्याबा तुमले १ १ गोल गरे । वीरगञ्जका लागि विदेशी खेलाडी आइकिन्स बफोरले गरेको गोल सान्त्वना बन्यो । तीनवटै गोल पहिलो हाफमै भएका थिए ।
पोखराले खेलको छैटौं मिनेटमा अग्रता लिएको थियो । आयुश घलानले बक्सको दायाँबाट दिएको क्रसमा मोसेस ग्याबाको प्रहार ब्लक भएपछि एइडोले बक्सको लाइनबाट गरेको प्रहार गोल भएको थियो र गोलकिपर दीप कार्कीले बल बाहिरिन्छ भनेर कुनै गतिविधि नै गरेनन् ।
११औं मिनेटमा नै वीरगन्जले बराबरी गोल फर्कायो । सुशील लामाको फ्रिकिकमा बफोरले हेडर गोल गर्दै खेलमा बराबरी गरे । पोखराका गाेलरक्षक यभ्स प्रिसोले पन्च गर्न खोजेपनि बल हातमा लाग्दै गोल भएको थियो ।
४४ औं मिनेटमा पोखराले पुनः खेलमा अग्रता लियो । स्टेफन कोयोको क्रसमा हेडिङ गोल गर्दै मोसेसले खेलमा पोखरालाई दोस्रोपटक अग्रता दिलाए र पहिलो हाफमा पोखरालाई अघि राखे ।
जितसँगै ६ खेलमा ११ अंक जोडेको पोखरा अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । वीरगन्ज भने ६ खेलमा ४ अंक मात्र जोड्दै सातौं स्थानमा छ र उसको प्लेअफ पुग्ने अब गणितिय सम्भावना मात्र बाँकी छ ।

