सात महिनापछि बालकृष्णको घरफिर्ती !

काठमाडौ,२९मंसिर।नेपाली कांग्रेसका नेता एवं पुर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि घर फर्केका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाण अदालतको आदेशसंगै ३० लाख धरौटीमा छुट्न बैंक ग्यारेन्टी दिएपनी शुक्रबार दिनभर तनावमा रहे। अदालतमा धरौटी बुझाएर निस्केपछि खाणलाई सम्पत्ति शुद्धिकरण बिभाग पुर्याइयो र त्यहा १५ लाख धरौटी राखेर मुक्त भए।
त्यतिमा मात्रै उनी छुट्ने अवस्था थिएन। त्यस लगत्तै उनलाई अख्तियार पुर्याइयो। तर,अख्तियारले साधारण तारिखमा मात्रै छाड्ने भएपछि बल्ल शुक्रबार अबेर उनी थुनामुक्त भएका हुन् ।प्रहरी हिरासत र कारागार गरि उनले ठ्याक्कै ७ महिना बिताए।
गत मंसिर १५ गते दुई न्यायाधीशको राय फरक आएपछि तेस्रो न्यायाधीश मार्फत बिहीबार उच्च अदालत पाटनले उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। यसअघि अन्य ५ जना धरौटीमा छुटेका थिए भने भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल भने अदालतले मागेको १५ लाख धरौटी बुझाउन नसक्दा जेलमै छन् ।
यहि प्रकरणमा पक्राउ परेका पुर्व उपप्रधानमन्त्री एवं एमाले सचीव टोपबहादुर रायमाझी लगायत ९ जना कारागारमै छन भने पुर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा अझै फरार छन् ।

