राष्ट्रिय सभाको रिक्त सिटमा सत्ता गठबन्धन भित्रै लडाइँ

यसरी हुँदैछ अध्यक्ष सहित सिट भागबन्डा

काठमाडौ,२७मंसिर । राष्ट्रिय सभाको अध्यक्ष सहित रिक्त हुन लागेको सिटमा सत्ता गठबन्धन भित्रै भागबन्डा गर्न सकस परेको छ।

अहिलेको सत्ता समीकरण हेर्दा राष्ट्रिय सभामा रिक्त हुन लागेका सबै सिट गठबन्धनले जित्ने देखिन्छ। त्यसमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ९ सिट गुमाउने निश्चित जस्तै छ। यहि ९ सिट र अध्यक्षको बिषयमा गठबन्धनमा लडाइँ सुरु भैसकेको छ।अध्यक्षमा सबै दलको दाबी छ।

गठबन्धन भित्रका दलहरू नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जसपाले राष्ट्रिय सभामा अध्यक्ष आफुले पाउनुपर्ने अडान राखेका छन् ।यसमा एकीकृत समाजवादीको जोडबल बढी छ। कांग्रेसले राष्ट्रपति,माओवादीले प्रधानमन्त्री र जसपाले उपराष्टपति पाइसकेकाले राष्ट्रिय सभाको अध्यक्ष आफुहरुले पाउने कुरा न्यायोचित र दाबी गर्नु स्वभाविक हुने समाजवादीको भनाइ छ। समाजवादीले अध्यक्ष पाएमा पार्टी उपाध्यक्ष घनेन्द्र बस्नेत दाबेदार देखिन्छन् ।

उता नेपाली कांग्रेसले पनि अध्यक्ष नछाड्ने भन्दै आएको छ। पार्टी भित्रको गुट उपगुट र सिनियर नेता ब्यबस्थापनको लागि अध्यक्षमा दाबी गरेको स्रोतको भनाइ छ। राष्ट्रियसभा अध्यक्ष पाएमा कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व उपसभापति गोपालमान श्रेष्ठ मध्य एकलाई सहज व्यवस्थापन गर्ने देखिन्छ।

सिटौला राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्ष बनेसँगै संवैधानिक परिषदमा समेत सहभागी हुन पाइने भएपछि सिटौला यो शक्ति हात पार्न लागेको चर्चा छ। पछिल्लो समय उनी पार्टी सभापति शेरबहादुर देउवाको समेत मन जित्न सफल छन् । पार्टी भित्र सानो गुट चलाएर पनि बार्गेनिङ गरिरहने सिटौलाले २ पटक सम्म झापा -३ बाट प्रतिनिधि सभा निर्वाचन हारेका थिए।

त्यसैगरी राष्ट्रियसभा अध्यक्षका अर्का दाबेदार पूर्व उपसभापति श्रेष्ठले पार्टी सभापति शेर बहादुर देउवालाई महाधिवेशन अघिको भद्र सहमति नतोड्न सम्झाएका छन् । देउवालाई घरमै गएर १४ औँ महाधिवेशनमा आफुले सभापतिको दाबी छाडेको गुन नबिर्सन भनेका हुन् ।

यता माओवादी केन्द्र र जसपा पनि राष्ट्रिय सभा अध्यक्ष पाउनुपर्ने अडानमा देखिएका छन् । तर,यी दुबै पार्टीले पाउने संभावना कम छ। माओवादीले अध्यक्ष छाडेर थप १ सिट बढी लिने र त्यसमा पार्टी एकता गर्न तयार भएका डा.बाबुराम भट्टराई निकट एक ब्यक्तिलाई व्यवस्थापन गर्ने बुझिएको छ।

आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ दलहरूबीच भागबन्डामा भएको सहमतिअनुसार १९ सीटमध्ये कांग्रेसले ९, माओवादी केन्द्रले ६, नेकपा एसले २ र जसपाले १ सदस्य पाउनेछन भने बाकी १ सदस्य हिसाबकिताबमा जसलाई पनि थपिन सक्नेछ। त्यसो त सत्ता गठबन्धनलाई साथ दिइरहेका लोसपा,जनमत,नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले पनि दाबी गर्न सक्नेछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय