यु१९ एसिया कप: नेपाल जीतविहिन हुँदै बाहिरियो

काठमाडौं, २६ मंसिर । युएईमा जारी एसिसी यु१९ एसिया कपमा नेपाल जीतविहिन हुँदै समूह चरणबाटै बाहिरिएको छ । मङ्गलबार भएको खेलमा भारतसँग १० विकेटले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।
नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका अर्शीन कुलकर्नी ४३ र आदर्श सिंह १३ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल केवल ५२ रनमा अलआउट भएको थियो । नेपालका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अर्जुन कुमाल र दीपक बोहराले सर्वाधिक ७ रन बनाए ।
भारतका राज लिम्बानीले ९.१ ओभरमा १३ रन दिएर ७ विकेट लिए । आराध्या शुक्लाले ९ ओभरमा ३१ रन दिएर २ विकेट लिए । अर्शिन कुलकर्नीले २ ओभरमा ७ रन दिएर १ विकेट लिए ।
नेपाल पहिलो खेलमा पाकिस्तान तथा दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

