काठमाडौ-३ कांग्रेस विवाद : निर्वाचन समितिको ठाउँमा क्षेत्रीय सभापतिको हस्ताक्षर, महासमिति छनोट प्रक्रिया रद्द

काठमाडौ,२६मंसिर। नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं. ३ को महासमिति सदस्य निर्वाचन प्रक्रियालाई केन्द्रिय निर्वाचन समितिले अमान्य घोषित गरिदिएको छ।

महासमिति सदस्यको निर्वाचन नै नगरी पार्टी क्षेत्रीय सभापति  सन्तोष चालिसेले  आफू खुशी निर्वाचन समितिको हस्ताक्षर हुनुपर्ने ठाउँमा समेत क्षेत्रीय सभापतिकै हस्ताक्षर गरेर नामावली बुझाएपछि विवाद सतहमा आएको हो।यद्यपि महासमिति सदस्य निर्वाचन सम्पन्न भएको भनेर पठाइएको पत्र सार्वजनिक हुनेबित्तिकै केही महाधिवेशन प्रतिनिधिले त्यसको बिरोध गर्दै केन्द्रमा उजुरी दर्ता गराएका थिए।

प्रतिनिधि सभा सदस्य एवं संसदको अर्थ समिति सभापति समेत रहेका क्षेत्रीय सभापति चालिसेको मनोमानी निर्णय र निर्वाचित भनिएका महासमिति सदस्यको नामलाई पार्टी केन्द्रीय निर्वाचन समितिले सच्याउन पत्रचार गरेको छ । केन्द्रिय निर्वाचन समिति सचीव जगन्नाथ श्रेष्ठले हस्ताक्षर गरि काठमाडौ जिल्ला कार्यसमितिलाई पठाएको मंसिर २२ को पत्रमा काठमाडौ प्रतिनिधिसभा क्षेत्र नं. ३ महासमिति सदस्यको निर्वाचन प्रक्रियामा त्रुटी भएको र पत्रको सम्बोधन समेत नमिलेको भनि पुनः निर्वाचन अधिकृत तोकी विधान अनुसार सदस्य मनोनयन गरी पठाउन निर्देशन दिएको छ ।

क्षेत्रको महासमिति सदस्य निर्वाचित भएको भनेर निर्वाचन समितिले केन्द्रिय निर्वाचन संयोजकलाई सम्बोधन गर्नुपर्नेमा निर्वाचन समिति नै नबनाइएको र क्षेत्रीय सभापति आफैंले हस्ताक्षर गरि पार्टी सभापतिलाई सम्बोधन गरेको केन्द्रिय निर्वाचन समितिले पठाएको पत्रमा उल्लेख छ।

यसअघि काठमाडौ-३ का पुर्व क्षेत्रीय सभापति एवम् महासमिति सदस्य समेत रहेका महाधिवेशन प्रतिनिधि परशुराम पोखरेल लगायत दुर्गाप्रसाद बराल, जयराज भण्डारी र नेपाल विद्यार्थी संघका सभापति रहेका दुजाङ शेर्पा समेतले महासमिति सदस्य छनोट प्रति असहमति जनाउँदै काठमाडौँ क्षेत्र नं. ३ ले गरेको निर्णय बदर हुनुपर्ने मागसहित केन्द्र,प्रदेश र जिल्लाको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुको ध्यानाकर्षणपछि क्षेत्रदेखी जिल्ला र केन्द्रमा समेत पार्टी बिधान र बिधीको पालना नगरेको भन्दै क्षेत्रीय सभापतिको आलोचना भएको थियो। केन्द्रिय निर्वाचन समितिले पुनः विधिानवमोजिम निर्वाचन समिति गठन र निर्वाचन प्रक्रियामा जान तथा पुरानो निर्णय सच्याउन गरेको पत्रचारपछि क्षेत्रीय समिति नैतिक दबाबमा परेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय