अफगानिस्तानसँग पराजित भएसँगै नेपालको सेमिफाइनल सम्भावना लगभग समाप्त

काठमाडौं, २४ मंसिर । युएईमा जारी एसिसी यु१९ एसिया कपको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो ।
अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १८८ रनमा अलआउट भयो । नेपालका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ९१ रनको योगदान दिए । उनी अन्तिम विकेटका रुपमा आउट भएका थिए । अर्जुनबाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।
अफगानिस्तानका नासिर खानले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । त्यस्तै फरिदुन दावुदजाइले ७ १ ओभरमा ३१ रन दिएर ३ विकेट लिए । मोहम्मद युनुसले ७ ओभरमा ३७ रन दिएर २ विकेट लिए । वाहिदुल्लाह जाद्रान र खलेल अहमदले १ १ विकेट लिए ।
त्यसअघि आइसिसी ओभल २ मा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २६२ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । अफगानिस्तानले ४९.३ ओभरमा ९ विकेट गुमाएर २६१ रन बनायो ।
अफगानिस्तानका लागि जम्शीद जाद्रानले शतकीय पारी खेले । उनले ८ चौकासहित सर्वाधिक १०६ रन बनाए । त्यस्तै नुमान साहले ६० तथा रहिमुल्लाह जुरमातीले ३५ रन बनाए ।
नेपालका लागि गुल्शन झा, हेमन्त धामी र सुवास भण्डारीले २-२ विकेट लिए भने आकाश चन्द र दीपेश कँडेलले १-१ विकेट लिए ।

