नायिका रेखा थापा सुटुक्क अमेरिका पुगिन्
पाँच महिना बस्ने, उतै बच्चा जन्माउने
काठमाडौं, २४ मंसिर । हिम्मतवाली नायिका भनेर चिनिने नायिका, निर्देशक तथा निर्माता रेखा थापा अमेरिका पुगेकी छन् । उनले आफ्नो पहिलो सन्तानलाई अमेरिकामा नै जन्म दिने भएकी छिन् ।
आफैंले निर्माण गरेको पछिल्लो चलचित्र ‘उपहार’को काम सकेर सन्तानलाई अमेरिकामा जन्म दिन उनी केही दिन अगाडि मात्र अमेरिका पुगेकी हुन् । उनले अमेरिका पुगेर श्रीमान बलराम शाहीको जन्मदिन मनाएको फोटो समेत शेयर गरेकी छिन् ।
पारिवारिक स्रोतका अनुसार नायिका रेखा र श्रीमान बलराम अब ५ महिना अमेरिकामा नै बस्न लागेको र यहि बिचमा बच्चालाई जन्म दिने बुझिएको छ । उनको पेटको बच्चा माघमा जन्मिने चिकित्सकको सल्लाह अनुसार उनीहरु अमेरिका उडेका हुन् ।
रेखाले आफ्ना प्रेमी बलराम शाहीसँग डेढ बर्ष अगाडि बिहे गरेकी थिइन् । बलरामको परिवार नै अमेरिकामा रहेकाले रेखाले सन्तानलाई उतै जन्म दिन लागेको बुझिएको छ । रेखा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्य समेत हुन।
रेखाले निर्माण गरेको फिल्म ‘उपहार’ फागुनको २५ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको डबिङको काम रेखाले सकिसकेकी छिन् । यती मात्र होइन, उनले फिल्मको प्रमोसनका लागि पनि थुप्रै मिडियामा पुगेर अन्तरवार्ता दिइसकेकी छिन् । रेखा सहित फिल्मको कार्यकारी निर्माता रहेका श्रीमान बलराम पनि फिल्म रिलिजको समयमा नेपालमा हुने छैनन् ।

