एनएसएल: दोस्रो जीतसँगै बुटवल लुम्बिनी शीर्ष चारमा उक्लियो

काठमाडौं, २३ मंसिर । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले दोस्रो जीत हासिल गरेको छ । शनिबार साँझ भएको खेलमा बुटवलले साविक विजेता काठमाडौं रेजर्समाथि २ १ गोलअन्तरको जीत हासिल गरेको हो ।

बुटवलको जीतमा स्टेफेन बिनोङ र एरिक विष्‍टले १-१ गोल गरे । काठमाडौंका राजिव लोप्चनले गरेको गोल सान्त्वना बन्यो । बिनोङले खेलको २९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सरोज तामाङको क्रसलाई काठमाडौंका गोलरक्षक अभिषेक बरालले राम्रोसँग पन्च गर्न नसकेपछि बक्सभित्र पाएको बललाई बिनोङले प्रहार गरेपनि कुलदीपले क्लियर गरे तर पुनः बल बिनोङलाई लागेर गोल भयो । त्यही गोलमा बुटवल पहिलो हाफमा १-० ले अगाडि रह्‍यो ।

एरिकले दोस्रो हाफको ६१औं मिनेटमा गोल  गर्दै टोलीको अग्रता दोब्बर पारे । जिलेस्पी जंग कार्कीले बायाँबाट दिएको क्रसलाई एरिकले बक्सको लाइनबाट फस्ट टचमै प्रहार गरेको बल गोलमा परिणत भएको थियो । किपर अभिषेक बरालले बचाउन डाइभ गरेको भएपनि बचाउन सकेनन् ।

इन्जुरी समयमा ओङ्गएना जुनियरको पासमा राजिवले गोल गर्दै काठमाडौं ढिलै भएपनि खेलमा फर्कन प्रयास गर्‍यो । त्यसपछि पनि काठमाडौैले दुई अवसर प्राप्त गरेको थियो । अन्तिममा जुनियरले बक्सबाहिरबाट गरेको भली प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो ।

यस जीतसँगै बुटवल ५ खेलमा ८ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित काठमाडौं ४ खेलमा ५ अंक जोड्दै छैटौं स्थानमा छ ‌।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय