रगतमा कसरी बढ्छ कोलेस्ट्रोल ?
के गर्ने ? के नगर्ने ?
रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ ।
शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ।
माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन। फ्राइ गरेको माछाले कोलेस्ट्रोल बढाउन सक्छ । अण्डा हप्तामा दुईसम्म खादा हुन्छ । अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।
मदिराले गुड कोलेस्ट्रोलको मात्रा घटाउँछ भन्ने भ्रम छ । मदिराले केही मात्रामा गुड कोलेस्ट्रोल घटाउँछ। मदिरामा बढी क्यालोरी हुन्छ । मदिराले ब्लडप्रेसर, डाइबिटिजलगायतका समस्या पनि निम्त्याउँछ । विशेषगरी बियरले ट्राइग्लिसेराइड्सको मात्रा बढाउँछ ।
मधुमेहको समस्या भएका मानिसले खानामा नियन्त्रण त गर्छन् तर उनीहरूको शारीरिक स्ट्रक्चर कस्तो हुन्छ भने थोरै मात्र बोसोयुक्त खानेकुरा खाँदा पनि त्यसले नकारात्मक असर पार्छ । मधुमेहको समस्या भएकालाई यसै पनि ब्याड कोलेस्ट्रोलको समस्या हुन्छ। थोरै मात्र पनि बोसोयुक्त खानाले ब्लकेज गर्ने गरी कोलेस्ट्रोल बढ्छ।
त्यसैले मानिसले दैनिक कम्तीमा ३० मिनेट शारीरिक क्रियाकलाप गर्न आवश्यक हुन्छ। चुरोटको सेवनले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा घट्न थाल्छ। यसमा भएका निकोटिन र अन्य हानिकारक पदार्थले शरीरमा भएको गुड कोलेस्ट्रोललाई पनि ब्याडमा परिवर्तन गर्छ।

