एनएसएल फुटबल: इन्जुरी समयको गोलमा बुटवल हारबाट जोगियो

काठमाडौं, २१ मंसिर । एफसी चितवन र बुटवल लुम्बिनी एफसीले काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बराबरी खेलेका छन् । बिहिबार साँझ भएको खेलमा चितव र बुटवलले १-१ गोलको बराबरी खेलेका हुन् ।
चितवनका लागि उत्सब राई तथा बुटवलका स्टेफेन बिनोङले गोल गरेका थिए । उत्सबले ४८औं मिनेटमा सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बुटवलका गोलकिपर मोहमदोउले राम्रो बल डेलिभरी नगर्दा उत्सवले पाएको बल करिब ३५ यार्ड टाढाबाट प्रहार गरेका थिए जसलाई मोहमदोउले नियन्त्रणमा लिन सकेनन् । इन्जुरी समयमा बिनोङ मणि लामाको पासमा आएको बललाई उत्कृष्ट फिनिसिङ गर्दै बुटवललाई हारबाट जोगाए ।
पहिलो हाफमा दुवै टोलीले अवसरहरु सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो । १५औं मिनेटमा चितवनका टोरिक जेब्रिनको कर्नरबाट आएको बल बुटवलका गोलरक्षक मोहमदोउले पन्च गरिदिएका थिए । २०औं मिनेटमा बुटवलका स्टेफन बिनोङले प्रहार चितवनका गोलरक्षक विशाल श्रेष्ठले बचाए ।
३७औं मिनेटमा टोरिक बक्सभित्र लडेपछि पेनाल्टीको अपिल गरेको भएपनि रेफ्री प्रज्वल क्षेत्रीले कुनै चासो देखाएनन् । ४२औं मिनेटमा बिमलले चिप गर्न खोज्दा बल पोस्टमाथिबाट बाहिरिएको थियो ।
दोस्रो हाफको सुरुवाती समयमा नै चितवनले अग्रता लियो । त्यसपछि पनि बुटवलले खेलमा फर्कने थुप्रै अवसरहरु खेर फाल्यो । ५४औं मिनेटमा वान भर्सेस वानका लागि पाएको बलमा बिनोङले प्रहार गर्न सकेनन् । गोलकिपर विशाल श्रेष्ठ बक्सबाहिर आएर बल क्लियर गरिदिएका थिए ।
८२औं मिनेटमा टोरिकको प्रहार बक्समा ब्लक भएपनि रिबाउन्डमा बिमलले गरेको प्रहार गोलरक्षक मोहमदोउले बचाए । लगत्तै बनेको मुभमा बुटवलका बिनोङले किपर बिट गरिसकेपछि क्लोज एङ्गलबाट गरेको प्रहार पोस्टभन्दा बाहिर लाग्दा बराबरी गर्ने मौकाबाट चुकेको थियो । ९०औं मिनेटमा सर्जे सङले बक्स बाहिरबाट प्रहार गरेको कर्लिङ बल बारमा लागेको थियो ।
यस बराबरीसँगै चितवन ४ खेलमा ५ अंक जोडेर अंकातालिकाको पाँचौं स्थानमा यथावत् छ भने बुटवल ४ खेलमा ४ अंक जोड्दै छैटौं स्थानमा छ ।

