रुकुम हत्याकाण्डको फैसला : २३ जनालाई जन्मकैद

काठमाडौ,१९मंसिर ।रुकुम हत्याकाण्डमा संलग्न भएका एक नाबालकसहित २३ जनालाई जन्मकैदको फैसला आएको छ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा २०७७ जेठमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो।
जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना नाबालकसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो।आइतबारदेखि जारी अन्तिम सुनुवाइ मंगलबार सकिए लगत्तै यस्तो फैसला आएको हो।
२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुमपश्चिमको सोतीगाउँ पुगेका थिए।
त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए।
सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो। उनीहरूका शव भेरी नदीमा भेटिएका थिए।
घटनापछि नवराजका बुबा मुनलाल नेपालीले दिएको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।
तीमध्ये किशोरी (नवराजकी प्रेमिका) की आमा धरौटी र अन्य १० अभियुक्त सामान्य तारेखमा रिहा भएका थिए ।

