बेगनासतालको मोटरबोट तत्काल बन्द गर्न पोखरा महानगरको आदेश

पोखरा, १९ मंसिर । पर्यटकीय नगरी पोखराको सात ताल मध्य बेगनास तालमा चलिरहेको मोटरबोट तत्काल बन्द गर्नुपर्ने भन्दै महानगरपालिकाले सरोकारवालालाई आदेश गरेको छ।
पोखरा महानगरपालिका-३१ स्थित बेगनासतालमा ६ महिना अघि ५० लाखको लागतमा मोटरबोट संचालन गरिएको थियो । हाल उक्त मोटरबोटलाई पोखरा महानगरपालिकाले बन्द गर्न निर्देशन दिएको हो।
महानगरले बेगनासताल डुंगा व्यवसायी समितिलाई एक पत्र लेखेर तत्कालै मोटरबोट बन्द गर्न आदेश दिएको हो । महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले मोटरबोट सञ्चालन गर्दा अन्य डुंगा व्यवसायमा असर पुर्याएको, माछा लगायतका जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको पत्रमा उल्लेख गरेका छन् ।
पत्र अनुसार मोटरवोट सञ्चालन गर्दा अनुमति नलिएको भनि बेगनासताल मत्स्य व्यवसायी समिति र स्थानीयको पटक पटक गुनासो आएकाले बन्द गर्न निर्देशन दिइएको पत्रमा उल्लेख छ । यस्तै, डुङ्गा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातीको पेसामा प्रभाव पारेको गुनासो पनि उल्लेख छ ।

महानगरले मोटरवोट बन्द भए, नभएको अनुगमन गरी जानकारी गराउन वडा कार्यालय पोखरा- ३१ लाई निर्देशनसमेत दिइएको छ । संयोग नै भनौ हाल वडा नम्बर ३१ को अध्यक्ष रहेका ढकनाथ कडेल बेगनासताल डुंगा व्यवसायी समितिका पुर्व अध्यक्ष समेत हुन् ।

