विप्लव, प्रकाण्डलगायतका नेकपा नेताविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव ’लगायत पार्टीका शीर्ष नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले ३५ दिनको समय दिएर उनीहरूविरुद्ध राज्यविरुद्धको कसुरसम्बन्धीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले महासचिव चन्दसहित उनका पार्टीका उपत्यका विशेष ब्यूरो इञ्चार्ज माइला लामा, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको सूचना गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरेको हो ।
उनीहरूविरुद्ध जिल्ला अदालत, काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो ।

