लघुकथा: ‘शिलान्यास’
पुष्कर नेपाल“निर्मल जाने होइन… ?” भनेर माख्लाघरे उमेशले कराएको पनि आधी घन्टा भइ सकेको थियो । उसले ‘हो हो, एकछिन पछि जाने’ भन्ने उत्तर दिएर आफु हिँड्ने तरखर गर्न थाल्यो ।
हिजो धोएको इष्टकोट छामी हेर्यो राम्ररी सुकेको रहेनछ । ‘आज जानु छ भन्ने थाहा पाएपछि अलि अगाडि नै धोएर दिनुपर्छ नि’ भनेर बुढीसँग फतफतायो । बुढीले त्यो इष्टकोटको सट्टा खरानी रंगको कोट लगाउन सुझाई । हो हुन त क्रान्तिको सफलता पछि प्राप्त गरेको उसको खरानी रंगको कोट नयाँ नै थियो । तर उसलाई त्यो कोट खासै लगाउन मन लाग्दैन, त्यसैले त नयैँ थियो । ‘मन परेको लुगा चैं लगाउन नपाउनु, यहाँकै खटनको लगाउनु पर्ने’ भन्दै पोहोर दिदीले तिहारमा दिएको कोठे बाक्लो सर्टमाथि नसुकेकै तर अख्रेको इष्टकोट, पाईन्ट र टोपी लगाएर ठिक पर्यो ।
बुढीले भान्सा ठिक गरी, खायो र उकालियो । माख्लाघरे उमेशको आँगनमा पुग्यो। फलैंचामा उसको जस्तै जस्तै लुगा ठिक पारेको देखेर रमायो । उमेशले पनि कोट चाहिं नलगाउने रहेछ भन्दै गुन्यो । यसो जस्केलो वाट टाउको छिराएर भान्सा भित्र चियायो । उमेशले खपाखप खाइरहेको देख्यो । ‘जाने हैन ? भनेर एक घण्टा अगाडी कराएको मान्छे भर्खर खाँदैछ।’ भनेर अभिव्यक्ति दियो । ‘हतार गरेर के गर्नु त्यहाँ पुगेर पनि उहि नेता कुर्ने त हो नी!’ भन्ने उत्तर पाएर राखिएको लुगा अलिकती पन्छाएर फलैंचामा बस्यो ।
उमेशलाई सोध्यो ‘कति बोट सुन्तला बेचिस् ?’ । उसले जस्केलाबाट निस्केर चुठ्दै उत्तर दियो, ‘छैन बेचेको । बारीमा नै किन्न आएका थिए, भाउ मिलेन । बजार पुर्याउन पाए अलि भाउ आउँथ्यो कि भनेर नबेची बसेको छु । अब भोलिदेखि दुवै जना १/१ भारी दिनैपिच्छे वजार लगेर बेच्नु पर्छ । कि कसो ?’ । उसले पनि सहमतिमा टाउको हल्लायो । तेतिञ्जेल दिनेशले पनि लुगा लगाईसकेको थियो । .दुवैजना जन्ती जान लागे जस्ता देखिए । दुवै जना लागे उकालो ।

ठाउँठाउँमा यसो सुस्ताउँदै, कुराकानी गर्दै जाँदा समय बितेको र बाटो कटेको पत्तै भएन । एघार बजे भनिएको कार्यक्रममा एघारै बजे पुग्ने उनीहरू मात्र थिएनन् । केहि परिचित टाउकाहरु पनि उनीहरु भन्दा अगाडि र पछाडि आईरहेका थिए । उनीहरू पुगेको एक घण्टा जती पछि माथी देवाली चौरमा हेलिकप्टरको आवाज सुनियो । केटाकेटी आवाज तर्फ दौडिए । देवाली चौरमा तिहार देखि हालिएको पिङ नेता ज्यूको हेली आउने भएपछि उखेलिएको थियो। करिव आधि घन्टा जति पछि नेता ज्यू आफ्ना दलबल सहित अफ्टेरो गरी ओरालो झर्दै कार्यक्रमस्थल आईपुगे । सायद उनलाई ‘मेड इन इटाली’ सुजले असजिलो पारेको थियो । पहिले नेपाली गोल्डस्टार लगाएर यस्ता उकाली ओराली सजिलै पार हुन्थे तर आज उहाँलाई धेरै असजिलो भएको देखियो ।
गाउँखोलामा हाल्न लागिएको पुलको शिलान्यास कार्यक्रम थियो। दुईवटा मुख्य खहरे र अरु ससाना खोल्साहरु मिलेर बनेको खोलो हिउँदमा फट्के हानेर तर्ने गरिए पनि वर्षामा भने केहि महिना आवतजावत बन्द प्राय हुन्थ्यो । यो खोलामा पुल हालेर अरु दुई खोल्सामा सामान्य कजवे को व्यवस्थापन गरेर करिब १६/१७ किमी बाटो निर्माण हुने हो भने धेरैवटा गाँउको विकासमा कायापलट हुने थियो। त्यसकारण यो पुलको उद्घाटन समारोहमा दुई/तिनवटा गाउँका भद्र भलाद्मी, सर्वसाधारण, विद्यालयका शिक्षक कर्मचारी, विद्यार्थी, स्वास्थ्यकर्मी धेरैजनाको राम्रो उपस्थिती थियो ।
नेताज्युको आगमनपछी ढिला नगरी कार्यक्रम सुरु भयो । कार्यकम प्रस्तोता अनुभवी थिए । उनले यसअघि पनि धेरै पटक कार्यक्रम संचालन गरिसकेका थिए । कार्यक्रममा थोरै वक्ताहरुलाई समावेशी समानुपातिक प्रतिनिधित्व हुने गरी व्यवस्था गरिएको थियो। साविक जस्तै नेता (मन्त्री) ज्यूले जगमा पञ्जा लगाएको हातले ढुंगा राखेर सो पुलको दोस्रो पटक आफ्नै हातले शिलान्यास गरे । यो भन्दा ६ वर्ष अगाडि पनि अर्का मन्त्रीज्यूले यही पुलको यही ठाउँमा शिलान्यास गरेका थिए। त्यसको दुई वर्ष पछाडि फलानो पार्टीको ढिस्कानो नेताले र त्यसको पनि ३ वर्ष पछि ढिस्कानो पार्टीको फलानो नेताबाट यो पुलको शिलान्यास भैसकेको थियो ।
उहाँको बाहुलीबाट शिलान्यास गरेपछि वहाँका वरिपरीका वहाँसँगै हेलिमा आएकाहरुले थपडी बजाए र उपस्थित अन्यले पनि बजाउने बेला भयो भन्ने ठानेर थपडी बजाए। तर थपडी कुसमयमा परेछ । नेताज्यू शिलान्यास गरेर यसो फर्कन लाग्दा खुट्टा अल्झिएर लडेका बखत सबैले थपडी बजाएछन् । नेताजी ले मुख बिगारे, सहयोगीले उनलाई उठाएर सजाइराखेको स्टेजतर्फ पुर्याए। कार्यक्रम प्रस्तोताले अनेक फुँदा जोडेर राम्रा राम्रा शब्दहरुले उनको सम्मान गरी दुई शब्दका लागी माइक हस्तान्तरण गरे।
नेताज्यूले केहि प्रतिपक्षलाई गाली, केही राजावादीलाई चेतावनी, केहि गाउँवासीलाई आश्वासन सहितका आफ्ना दिव्य वचनरूपी भाषण दिएर आफ्नो अर्को कार्यक्रममा जान हतारो भयो भन्दै आयोजक समितीले तयार गरेको खाजा र चिया चुस्कीमा थोरै अलमलिएर आफू लडेको कारणमा वहाँको संस्कार अनुसारको एकथान गाली गरिसकेपछि लागे हेलि तर्फ । यता कार्यक्रममा आफ्ना गाउँलेका गुनासा सुनाउन कुरेर बसेका अन्य वक्ताहरु भने मन्त्रीज्यु जान लागेको टुलुटुलु हेरेर बसिरहेका थिए।
कार्यक्रम प्रस्तोताले मन्त्रीज्यू उकालो लाग्दै गर्दा पनि उहाँको बखान गर्न नछोडी अन्य वक्ताहरुलाई पालैपालो बोल्नका लागि आह्वान गर्दै थिए । तर ठूलो संख्यामा बालबालिकाहरू र चम्चेहरु हेलिकप्टर भएतिर जाँदै थिए भने अर्को ठुलो समूह आ-आफ्ना गाउँतर्फ फर्कन थाले । अन्त्यसम्ममा अन्य वक्ताको कुरा सुन्ने मानिस नगन्य थिए । गाउँतर्फ फर्किरहेको मानिसहरुको मनमा भने नाराहरूको जन्म भईरहेको थियो । फलानो नेता चोर, देश छोड, ढिस्कानो दल चाहिंदैन, विकास विरोधी फलानो दल, ढिस्कानो नेता भ्रष्चाचारी हो, आदि ।
यता निर्मल र उमेश पनि विश्वास र भरोसा नभएको तर थोरै आशा पलाएको मन लिएर लागे ओरालो । उनीहरु आफूसँग भएको पुरानो ढाकरले तेती काम नदिने,नाम्लो सजिलो नभएको एकआपसका समस्याका बारेमा कुरा गर्दै भोलि एक भारी सुन्तला बजार लैजाने योजना बनाउँदै थिए ।
यो पनि पढ्नुहोस्: लघुकथा- नमस्कार !

