
लघुकथा- नमस्कार !
पुष्कर नेपालआफ्नो जीवनमा पर्याप्त सफलता नपाएको महसुस गर्ने निर्मल त्यसको कारण केलाउँछ र पाउँछ ठुलावडालाई प्रभावित पार्न नसक्नाले । अब ठुलाबडालाई प्रभावित कसरी पार्ने भन्ने कुराको खुल्दुली मेटाउने क्रममा ‘First impression is the last impression’ भन्ने उखानको सम्झना गर्दै VIP हरुलाई नमस्कार गर्ने शैलीबाट रूपान्तरण गुरू गर्ने विचार गर्यो ।
उसले नमस्कारका सबै शैलीहरू सम्झ्यो, हात जोडेर निधार नजिकै लगेर गर्ने, नाक नजिकै लगेर गर्ने, घाँटीमा लगेर गर्ने, छातीको मध्य भागमा लगेर गर्ने नमस्कारहरू short listed भए । उसका औंला हल्लाएर गर्ने, हत्केला देखाएर, टाउको हल्लाएर गर्ने जस्ता नमस्कारका शैलीहरू पहिल्यै छनौटमा परेनन् ।


चार वटा short listed नमस्कारका शैली मध्ये दुवै हात जोडेर छातीको बिचमा राखेर नमस्कार गर्ने शैली उत्तम विकल्प ठहरियो । अझ त्यसमा बोलीले समेत ‘नमस्कार’ भन्ने विचार गर्यो र आफ्नो कोठामा अभ्यास गर्यो । अर्धाङ्गिनीले यसो हेरिन् र सोधिन् ‘कोल्लाई नमस्कार गर्नुभा?’ उसले प्रतिउत्तर दिन सकेन बरु अभ्यस्त नमस्कार टक्राइदियो । छक्क नपरेकी त हैनन् तर सामान्य रुपमा फतफताउँदै लागिन् भान्सा तिर । उनलाई अर्धाङ्गको यस्तो वहुलठ्ठी बानी थाहा थियो।

लामो समयदेखि प्रतिक्षारत उसलाई आफ्नो शैलीको परिक्षण गर्ने सु-अवसर मिल्ने भो । धेरैजना VIP उपस्थित हुने कार्यक्रम तय भयो । उसले कार्यक्रमको सम्पूर्ण संयोजनको कार्यहरू भ्यायो । निमन्त्रणा पत्र, स्वागत मन्तव्य, कार्यक्रमको खाका, क्यान्टिन व्यवस्था, पाहुना स्वागतजस्ता सबैजसो कार्यक्रमको संयोजन गरिसकेपछि निमन्त्रणा पत्रको अन्त्यमा कार्यक्रम संयोजकको नाममा फोनबाट निर्देशित नाम लेखिसकेपछि ‘कार्यक्रममा तपाईं हुनु पर्छ’ भन्ने निमन्त्रणा पाएर ऊ घर फर्क्यो ।
राति राम्ररी निदाउन नसकेको ऊ सबेरै उठेर अर्धशौच गरी भएसम्मका राम्रा लुगा लगाएर अर्धाङ्गिनीलाई सोध्न भ्यायो ‘कस्तो देखिएको छ ?’ आफुले यस्ता प्रश्न कैंयौ पटक सोध्दा वेवास्ता गर्ने र कहिले लगाउने कुरामा वास्ता नगर्ने ल्याङफ्याङ बुढाले यस्तो प्रश्न सोधेको देखेर उसकी अर्धाङ्गिनीले यसो कपडा मिलाइदिन खोजिन् तर ऊ बेवास्ता गर्दै हतारिँदै बाहिरियो। ऊ कार्यक्रम सुरू हुनुभन्दा आधा घण्टा अगाडी नै कार्यक्रम स्थलमा पुग्यो, ऊ आफू पनि सो कार्यक्रमको विशेष व्यक्तित्व जो थियो । लेखिएको कार्यक्रम संयोजक तथा सोहि संस्थाका सबैजसो व्यक्तित्व हरूलाई निमन्त्रण पत्र तयार गरी खामबन्द गरी बाहिर फलानो ज्यू लेखेर उ आफैंले घरघरमा पुर्याउने र पुर्याउन लगाएको थियो। ऊ भने विशेष थियो किनकि परिवारका सदस्यले निम्तो पाउँदैन भन्ने उसलाई थाहा थियो ।
कार्यक्रममा आमन्त्रितहरू धमाधम आउन थाले। उसले आफ्नो नमस्कार शैली परिक्षणको परियोजना शुरू गर्यो । उसले पार्किङ्गमा परिक्षण गर्यो, मूल ढोकामा प्रयोग गर्यो, चमेना गृहमा नमस्कार गर्यो, उसले शौचालयको प्रवेशद्वारमा समेत नमस्कार गर्यो । उसले त्यहाँ उपस्थित सबै VIP लाई नमस्कार गरी भ्यायो। कैयौं व्यतित्वलाई त उसले खोजीखोजी शौचालय बाहिर कुरेर पनि उसको शैलीको नमस्कार टक्रायो । उसको नमस्कार शैली परिक्षण परियोजना अन्तिम चरणमा समेत सफल हुने छाँट नदेखेर उसको प्रयोगको हाईपोथेसिस शून्य तर्फ लाग्यो। उसको अपेक्षा थियो कि उसको नमस्कार शैली सर्वमान्य हुनेछ भन्ने तर सबै VIPले उसको नमस्कारको प्रतिउत्तर अर्कै शैलीले दिए। कसैले मुखले मात्र, कसैले एउटा हातले कसैले टाउको हल्लाएर, कसैले हात धोएपछि पानी टकटकाउँदै नमस्कारको प्रतिउत्तर दिए। ती VIP हरुले गर्ने नमस्कारको शैली अवलम्बन गर्ने सुरमा थियो। उसलाई कुन शैली ठिक हो भन्ने ठम्याउन हम्मे भयो ।
सदाझैं समयभन्दा एक घण्टा पछाडि कार्यक्रम शुरू भयो । उपस्थित सबैको आसनग्रहण भयो । एकपछि अर्को सम्बोधनहरू भए, समयमा उपस्थित हुन नसक्नु भएका प्रमुख अतिथिज्यूलाई पनि नमस्कार टक्राईयो। ऊ भने भखरै आएका आमन्त्रितसँगको साक्षात्कारमा नमस्कारको शैली परिक्षणमा नै व्यस्त थियो। उसको शैलीको अनुकरण, अनुसरण त परै जाओस समर्थन समेतको अत्तोपत्तो थिएन। एकाध ऊजस्तै (VNP) Very Normal people ले बाहेक कसैले पनि उसको जस्तो शैली प्रयोग गरेको पाएन।
यसैबिच कार्यक्रम समापन भयो। उपस्थित व्यक्तिहरू हलबाट बाहिरिन थाले। यो बेला पनि उसले परिक्षण बाँकी राखेन । छुटपुटमा परेका गन्यमान्यलाई उहि शैलीमा नमस्कार टक्रायो। अझै पनि उसको परिक्षण सफल भएन । आधाजसो मानिसहरू बाहिरिए पछी प्रमुख अतिथिको आगमन भयो। प्रमुख अतिथिको आगमन पश्चात त्यहाँ भागदौड जस्तै भयो। कोहि बाटो पन्छाउन लागे भने कोहि कुर्सी ठिक पार्न। उसले प्रमुख अतिथिमा भने आफ्नो परिक्षण गर्न पाएन। किनकी ऊ प्रमुख अतिथिको नजिक पुग्न नै पाएन।
कार्यक्रम संयोजकले कतैबाट कुर्सी ल्याएर प्रमुख अतिथीलाई आसन ग्रहण गराए। त्यसअघि उनले आफ्नो हातैले सफा कुर्सी फेरी पुछ्न भ्याए । यस अवसरमा सबै VIP हरु सतर्क मुद्रामा उभिइरहेका थिए। यता निर्मल भने आफ्नो परिक्षण सफल भएकोमा मुस्कुराउँदै घर जाने सुरमा थियो। किनकि उसले जुन शैलीको नमस्कारको आज दिनभरी प्रयोग गरेको थियो त्यो शैली सम्पुर्ण VIP हरूले एकैपटक VVIP लाई टक्राएको देख्यो र खुशी हुँदै फर्क्यो !
Comments

