पुर्व गृहमन्त्री खाणको टुंगो अर्को साता मात्रै

काठमाडौ,१५मंसिर।नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्‍त्री बालकृष्ण खाणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने निर्णय अर्को इजलासले गर्ने भएको छ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएपछि अब तेस्रो इजलासमा सुनुवाइ हुने भएको हो।यस्तो खण्डमा उच्‍च अदालतकै एकल इजलासले सुनुवाइ गर्ने प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए। अर्को हप्ता पेशी तोकिने उनले बताए।

उनका अनुसार न्यायाधीश जनक पाण्डेले‍ खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। न्यायाधीश प्रकाश खरेलले भने उनलाई थुनामै पठाउनुपर्ने राय दिएका हुन्।

यस्तै, उच्च अदालत पाटनले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। उनीसँगै हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई १० लाख रुपैयाँ, खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रुपैयाँ, एमाले नेता टोपबहादुरका छोरा सन्दीपसँग ३० लाख रुपैयाँ, हरिभक्त महर्जनसँग १५ लाख र रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

लक्ष्मी महर्जन, ट‌ंक गुरूङ, केशव तुलाधर र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय