ओलावालेको इन्जुरी समयको गोलमा धनगढीको संघर्षपूर्ण जीत

काठमाडौं, १४ मंसिर । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसीले लगातार दोस्रो जीत हासिल गरेको छ । बुधबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई १-० गोलअन्तरले हराएको हो ।

धनगढीको जीतमा ओलावाले आफिजले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बनेको थियो । उनले ९४औं मिनेटमा अहमद हिजाजीको पासमा गोलरक्षक बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । यही गोल धनगढीको जितमा निर्णायक बन्यो ।

त्यसअघि खेल अवधिभर दुवै टोलीले राम्रा अवसरहरु सिर्जना गरेका थिए । २३औं मिनेटमा धनगढीका अभिशेक गुरुङले डी बक्सबाहिरबाट दिएको पास फोफाना फोडेले प्रहार गरेको भएपनि गोलरक्षकले बचाएका थिए । ३५औं मिनेटमा बुटवलका एरिक विष्टको कर्नरबाट आएको बलमा जिलेस्पी जङ कार्कीले हेड गरेको भएपनि गोलरक्षकले बचाए ।

दोस्रो हाफको ७३औं मिनेटमा धनगढीका ओलावाले आफिजले दुई डिफेन्डरलाई बिट गर्दै अघि बढाएको बल डिबक्सबाट प्रहार गरेको भएपनि फस्ट बार बाट बाहिरियो । ९०औं मिनेटमा बुटवलका आशिष लामा र निराजन धामीले सुन्दर अवसर खेर फाले । दुवैले शट टार्गेटमा राख्‍न सकेनन् ।

यस जीतसँगै धनगढीले २ खेलमा ६ अंक जोडेको छ र शीर्षस्थानमा उक्लिएको छ भने बुटवल लुम्बिनी एफसीले २ खेलमा कुनै अंक जोडेको छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय