चितवनमा भएका सवारी दुर्घटनामा २३ को मृत्यु

काठमाडौं, १३ मंसिर । चितवन जिल्लामा पछिल्लो चार महिनामा २३ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २१ पुरुष छन् ।
चालु आर्थिक वर्षको चार महिनामा जिल्लामा भएका ८८ दुर्घटनामा उनीहरुले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ।
जिल्ला ट्राफिक कार्यालयकाअनुसार दुर्घटनामा परी दुई सय २९ जना घाइते भएका छन् । जसमध्ये ४७ जना गम्भीर घाइते भए भने एक सय ८२ जना सामान्य घाइते भएको प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिएका छन् ।
जिल्लामा भएका सवारी दुर्घटनामा एक सय ३७ वटा सवारीसाधन परेका छन् । सुवेदीकाअनुसार जिल्लामा भएका पूर्व–पश्चिम लोकमार्गमा २१ वटा दुर्घटना भएका छन् । यस्तै नारायणगढ मुग्लिन सडक खण्डमा १३ वटा, पृथ्वी राजमार्गमा तीनवटा, सहरी सडक खण्डमा ६ वटा र भित्रि सडकमा ४५ वटा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
दुर्घटना न्यूनीकरणका लागि कार्यालयले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम सञ्चालन गर्दै आइरहेको पनि सुवेदीले जानकारी दिए।

