म्याक्सवेलको शानदार शतकमा भारतमाथि अस्ट्रेलियाको जीत

काठमाडौं, १२ मंसिर । भारत र अस्ट्रेलियाबीच जारी टी-२० श्रृंखलाको तेस्रो खेलमा अस्ट्रेलियाले शानदार जित हासिल गरेको छ । अस्ट्रेलियाले भारतलाई ५ विकेटले हराएको हो ।

भारतले दिएको २२३ रनको विशाल लक्ष्य अस्ट्रेलियाले अन्तिम बलमा ५ विकेटको क्षतिमा भेट्टायो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अविजित शतकीय पारी खेले । उनले ४८ बलमा ८ चौका र ८ छक्कासहित १०४ रन बनाए । त्यस्तै म्याथ्यु वेड २८ रनमा अविजित रहे। ट्राभिस हेडले ३५ रन बनाए ।

भारतका लागि रवि विश्‍नोईले ४ ओभरमा ३२ रन दिएर २ विकेट लिए । अर्शदीप सिंह, अक्षर पटेल र आवेश खानले १-१ विकेट हात पारे । अस्ट्रेलियालाई अन्तिम २ ओभरमा ४३ रन आवश्यक रहेको अवस्थामा म्याक्सवेल र वेड मिलेर अक्षरलाई २२ तथा प्रसिद्धलाई बाँकी रन प्रहार गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२२ रन बनाएको थियो । भारतका लागि ओपनर रुतुराज गायक्‍वाडले शतकीय पारी खेले । उनी ५७ बलमा १२३ रनमा अविजित रहे । सूर्यकुमार यादवले ३९ तथा तिलक वर्माले अविजित ३१ रन बनाए ।

अस्ट्रेलियाका लागि जेसन बेहरनडर्फले ४ ओभरमा १२ रन मात्र दिएर १ विकेट लिए भने केन रिचार्डसन र आरोन हार्डीले १-१ विकेट लिए ।

योसँगै पाँच खेलको श्रृंखला २-१ को अवस्थामा पुगेको छ । यसअघिका दुई खेल भारतले जितेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय