एनएसएलमा काठमाडौं र चितवनको रोमाञ्‍चक बराबरी

काठमाडौं, १२ मंसिर । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स र एफसी चितवनले रोमाञ्‍चक बराबरी खेलेका छन् । मङ्गलबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौं र चितवनले १-१ गोलको बराबरी खेलेका हुन् ।

खेलको दुवै गोल दोस्रो हाफको अन्त्यतिर भएका थिए । बिमल घर्ती मगरले ८७औं मिनेटमा गरेको कटब्याक प्रहार डिफेन्डरलाई डिफ्लेक्ट भएर गोल भएको थियो । त्यसपछि इन्जुरी समयमा जुनियर ओङ्कोङगोले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल भएको थिएन । दुवै टोलीले राम्रा अवसरहरु सिर्जना गरेका थिए । २३औं मिनेटमा काठमाडौंका शोखरुख खोलमातोभले बक्सबाहिरबाट गरेको प्रहार सेकेण्ड बार नजिकबाट बाहिरियो । २६औं मिनेटमा चितवनका रोशन राना मगरले बक्स भित्रबाट गरेको प्रहार सेकेण्ड बारको छेउबाट बाहिरियो ।

४१औं मिनेटमा चितवनका बिमल घर्ती मगरले बक्सबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । त्यसको केही मिनेटमै राम्रो स्थानबाट पाएको फ्रिकिकमा काठमाडौं गोल गर्नबाट चुक्यो ।

दोस्रो हाफको ६९औं मिनेटमा चितवनका रफिक अमिनोले सुन्दर अवसर खेर फाले । त्यसलगत्तैको मुभमा काठमाडौंका राजिव लोप्चन गोल गर्नबाट चुके । ७३औं मिनेटमा चितवनका बिमल घर्ती मगरको प्रहार फितलो रह्‍यो ।

यस जीतसँगै काठमाडौं २ खेलमा ४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । चितवनले भने २ खेलमा १ अंक मात्र जोडेको छ । चितवनले एनएसएलमै कुनै जीत हात पार्न सकेको छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय