पेनाल्टी मिस गरेका अमाथकै निर्णायक गोलमा इलामले झापालाई हरायो

काठमाडौं, ११ मंसिर । स्पोर्टिङ इलाम एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जीत हासिल गरेको छ । सोमबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा इलामले झापा एफसीलाई १-० गोलअन्तरले हराएको हो ।

इलामको जीतमा अमाथ एन्डको गोल नै निर्णायक बन्यो । उनले खेलको ८७औं मिनेटमा गोल गरेका थिए । भरत खवासको पासमा अमाथले गरेको प्रहार गोलरक्षकले बचाएपछि आएको रिबाउन्ड बलमा अमाथले नै गोल गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए ।

यसको केही मिनेटअगाडि मात्र अमाथले पेनाल्टी मिस गरेका थिए । उनको पेनाल्टी प्रहार आकासिएको थियो । पेनाल्टी मिसको आफ्नै गल्ती सच्याउँदै उनले टोलीका लागि विजयी गोल गरे ।

यस जीतसँगै इलामले ३ अंक जोडेको छ । यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको इलामले संघर्षपूर्ण जीत निकाल्यो । झापा भने आफ्नो पहिलो खेलमै पराजित भयो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय