एनएसएलमा वीरगञ्ज युनाइटेडमाथि धनगढीको जीत
काठमाडौं, १० मंसिर । धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले वीरगञ्ज युनाइटेड एफसीलाई २-१ गोलअन्तरले हराएको हो ।

धनगढीको जीतमा फोडे फोफाना र अहमद हिजाजीले १-१ गोल गरे । वीरगञ्जका कोफीले एक गोल फर्काए । पहिलो हाफमा १ १ को बराबरी भएकामा दोस्रो हाफको अन्त्यतिर हिजाजीले निर्णायक गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमा नै फोडे फोफानाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ओलावालेले बाँयातर्फबाट मिलाएको पासमा फोफानाले गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा हान्स कोफले पेनाल्टिमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफमा दुवै टोलीले अग्रता लिने थुप्रै अवसरहरु बनाएका थिए । खेलको ८९औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अहमद हिजाजीले कृतिश रत्न छुन्जुको पासमा गोल गर्दै धनगढीलाई २-१ को जीत दिलाए ।
यस जीतसँगै धनगढीले ३ अंक जोडेको छ । यसअघि काठमाडौं रेजर्स, पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले आ-आफ्नो पहिलो खेल जितेका छन् ।