भुर्तेलको शतकीय पारीमा नेपाल पुलिस विजयी

पोखरा, १० मंसिर । कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस क्लव पोखरामा जारी ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता’मा शानदार विजयी सुरुवात गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा समुह सि अन्तर्गत आइतबार भएको खेलमा विभागिय टोली नेपाल पुलिस क्लवले मधेश प्रदेश विरुद्ध ५७ रनको जित हासिल गरेको हो । कुशलले ५६ बलमा सात छक्का र आठ चौकाको मद्धतले १०२ रन बनाए । उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत हुन् । कुशलले २६ बलमा ५० रन पुरा गरेका थिए भने । उनको विष्फोटक पारीलाई मधेश प्रदेशका विशाल शुसलिङले ब्रेक गरेका थिए ।

टस जितेर पारीको सुरुवात गरेको पुलिसले २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन जोड्न सफल भयो । खेलमा पुलिसका लागि कुशल सँगै पारिको सुरुवात गरेका सुनिल धमलाले सुष्त गतिमा खेल्दै ४७ बल खेल्दै व्यक्तिगत ४५ रनको योगदान दिए ।

खेलमा ५ वल फेस गरेका करन केसीले २ छक्का र एक चौका प्रहार गर्दै १६ रन जोडे । तर अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । आरिफ शेख ६ रन बनाउँदै पेभिलियन फर्किदा राशिद खानले ३ रन बनाए । मधेश प्रदेशका लागि विशाल शुसलिङले २, विशाल पटेलले २ र रुपेश शिंहले १ विकेट हात पारे ।

यता जवाफी व्याटिङमा उत्रिएको मधेश प्रदेश भने १८.२ ओभरमा ११८ रनमा नै समेटियो । मधेशले १३ रन एक्स्ट्राको रुपमा पाएको थियो । मधेशका व्याटरहरु पुलिसका घातक बलर सामु खुलेर खेल्न सकेनन् । रुपेश सिंहले २५ बलमा ३ चौका र ३ छक्का प्रहार गदै सर्वाधिक ४० रन बनाए । इमरान शेखले २२ रन, रोहन विक र राकेश कमातले समान १०–१० रन जोडे ।

पुलिसका लागि करन केसीले आफ्नो ३ ओभरको स्पेलमा १७ रन दिंदै २ विकेट हात पारे । सागर ढकाल, राशिद खान र ललित राजवंशीले समेत समान २–२ विकेट लिए । कुशल भुर्तेल र सुनिल धमलाले १–१ विकेट हात पारे ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार सुदुर पश्चिम प्रदेश विरुद्ध नेपाल पुलिस र दोश्रो खेल कोशी प्रदेश र त्रिभवन आर्मी क्लवका विच हुने प्राविधिक संयोजक शक्ति गौचनले जानकारी दिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय