आन्दोलनलाई अवमुल्यन, उपेक्षा र दमन नगर्नु: कमल थापा

काठमाडौं, १० मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौंमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न, उपेक्षा नगर्न र दमन नगर्न सरकार र सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।

उनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको उच्च सम्मान समेत गर्ने बताएका छन् । सामाजिक संजालमा लेख्दै थापाले जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र स्थापना गर्ने पहलकदमी शुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण समेत गराएका छन् ।

काठमाडौंमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणामस्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दु:ख लागेको भन्दै थापाले घाईतेहरुको शिघ्र स्वास्थलाभको कामना समेत गरेका छन् ।

साथै, आगामी दिनहरुमा सर्वसाधारण जनतालाई कठिनाई नहुने र बिद्यार्थीहरुको पढाईलाई असर नपर्ने गरी शान्तिपूर्ण ढंगबाट प्रदर्शन संचालन गर्न आयोजकहरुमा थापाले अनुरोध गरेका छन् ।

राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरु हिंसा र तोडफोडमा विश्वास गर्दैनन् भन्ने सन्देश दिनुपर्नेमा थापाको जोड छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय