आगलागीमा परी तीन बालबालिकासहित चारको ज्यान गयो

बर्दिया, ९ मंसिर । बर्दियाको गुलरियास्थित एक घरमा गएराति आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।

गुलरिया- ४ तुलापुरमा रहेको भरत चन्दको घरमा शुक्रबार राति १० बजे आगलागी भएको थियो । आगलागीमा परी भरत चन्दकी दिदी ३६ वर्षीया राधा बुढा, उनकी छोरी ११ वर्षीया मानुषी बुढा, भरतका दुई छोराहरु ७ वर्षीय कृष चन्द र २ वर्षीय कार्तिक चन्दको मृत्यु भएको हो भने भरतकी पत्‍नी गम्भीर घाइते भएकी छन् ।

राधा र उनकी छोरी भरतको घरमा पाहुना गएका बेला उक्त घटना घटेको हो । घटना हुँदा घरमुली भरत भने घरमा थिएनन्। उनी रोजगारीको लागि बाँकेको कोहलपुरमा बस्ने गरेका छन् ।

आगलागीको कारण भने खुलिसकेको छैन । घटनाको थप अनुसन्धान सुरु गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय