आधुनिकतासँगै हराउँदै राँगा/गोरुगाडा
चन्द्र पौडेलमोरङ, ९ मंसिर । मोरङ सहित तराईका अधिकाशं जिल्लाहरुमा सबैभन्दा पुरानो यातायातको साधन हो गोरुगाडा वा राँगागाडा । दुई दशकअघि गाउँघरमा आवतजावतका लागि एक मात्र सवारी साधनका रुपमा रहेको गोरुगाडा (बयलगाडा) पछिल्लो समय हराउँदै गएको छ ।

सवारी साधनसँगै कृषिजन्य सामग्रीको ढुवानीका लागि प्रयोग गरिने गोरुगाडा आधुनिक साधन भित्रिएसँगै विरलै देखिन थालेका छन् । विगतमा घरमै निर्मित भरपर्दो साधन काठे गोरुगाडालाई ट्याक्टर र अन्य सवारी साधनले विस्थापित गराएको हो ।

जतिबेला तराईमा मोटर गाडीको चलन आइसकेको थिएन, त्यो बेला सामान ढुवानीका लागि गोरुगाडा वा राँगागाडाको विकल्प थिएन् । हरेक किसान र व्यापारीसँग घर घरमा गाडा हुन्थे । किसानहरु खेतमा गोबर मल लैजान, पाकेको बाली भित्र्याउन यिनै गाडाको प्रयोग गर्थे ।
यात्रा गर्दा समेत गोरुगाडी, राँगागाडीको प्रयोग हुन्थ्यो । पहिला–पहिला बिहेमा जन्ती लैजान र बेहुला–बेहुली बोक्न समेत गोरुगाडाको प्रयोग गर्ने चलन रहेको बेलबारी नगरपालिका ७ बाहुनी निवासी स्याम्फुल महतो सम्झन्छन् । यो सँगै जनावरले तान्ने गाडीहरु प्रायः लोप भएका छन् । राँगागाडी वा गोरुगाडी बनाउने कालीगढको समेत अहिले अभाव रहेको म्महतो बताउँछन् । गोरुगाडालाई तान्न गोरु, राँगोसमेतलाई अप्ठ्यारो हुनुका साथै ढुवानी गर्दा कम सामग्री अट्ने, काठको अभाव लगायतका कारणले यसको प्रयोग घट्दै गएको उनको भनाई छ । विशेष गरी गाउँमा काठे गोरुगाडाको प्रयोग हुने गरेको थियो ।
आधुनिकतासँगै मानिस सुविधाभोगी बन्दै व्यावसायिक हुन थालेपछि गोरुगाडा हराउँदै गएको थारु उमेश चौधरी बताउँछन् । विगतमा लामो तथा छोटो दुरीका यात्रामा गोरुगाडा कुदाएको स्मरण गर्दै उनले भने, जमाना धेरै अगाडी बढिसक्यो, अहिले घर घरमा मोटर साइकल, ट्याक्टर र अन्य आधुनिक गाडीहरु आइसके । अहिले प्रविधिको विकासले चलन फेरिएको छ । गोरुगाडा वा राँगागाडा अब इतिहास भइसकेको छ । मोटरसाइकल, कार, जिप, बस, ट्रक हुँदै बिभिन्न सवारी साधन सहज रुपमा उपलब्ध हुन थालेको छ ।
त्यस्तै गोरुगाडा बनाउने काठ समेत सहजै उपलब्ध हुँदैन । जसका कारण दिनानुदिन ईतिहास सम्झाउने पुरानो सवारी साधन गोरुगाडा लोप हुँदै गएको छ तर लोपोन्मुख अवस्थामा रहेको गोरुगाडाको अहिले संरक्षण हुन नसक्दा गाउँ घरमा त्यसै फालिएका छन् । नेपालको मात्र नभई विश्वकै पुरानो सवारीको साधनका रुपमा रहेको गोरुगाडाको संरक्षण गर्नुपर्ने देखिन्छ ।
तराईमा सबैभन्दा पुरानो सवारीसाधनको रुपमा गोरु गाडा वा पाडाको समेत प्रयोग गरिन्छ । तर पछिल्लो समय अझै पनि गाँउघरमा खोजेमा घरको कुनाकाप्चीमा प्रयोग विहिन अवस्थामा काठे गाडा पाउने गरेपनि प्रयोग भने लगभग शुन्य जस्तै छ। टायरगाढा अझै पनि एकहात प्रयोगमा आउने गरेपनि काठले बनेका काठेगाडा पाउन मुस्किल छ ।