दुर्गा प्रसाईं समूहको प्रदर्शन आजदेखि सिफल चौरमा

काठमाडौं, ९ मंसिर । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले आज शनिबारदेखि सिफल चौरमा प्रदर्शन गर्दै छ। शुक्रबार राति प्रशासन तथा सुरक्षा निकायसँगको छलफलपछि सिफल चौरमा गर्ने निर्णय भएको अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जनाएका छन् ।
तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि असर गर्ने तथा सुरक्षा दिन पनि असहज हुने भएकाले तिनकुनेमा प्रदर्शन गर्न नमिल्ने प्रशासनले जानकारी गराएको थियो ।
माण्डव्यका अनुसार प्रहरी, सशस्त्र र सेनाका उच्च अधिकारीसँगको छलफलपश्चात् जयबागेश्वरी पछाडि अर्थात् सिफल चौरमा प्रदर्शन तथा आमसभा हुने भएको हो । विहान ११:३० बजेदेखि कार्यक्रम सुरु हुने छ ।
अभियानको पहिलो दिन बिहीबार दिनभरजसो बल्खुमा प्रदर्शन गरेको सो समूहले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने भनेपनि प्रद्शन गर्न दिइएको थिएन । शुक्रबार दिनभरजसो प्रहरीले तिनकुने क्षेत्रबाट करिब २६० जनालाई नियन्त्रणमा लिएकामा साँझ रिहा गरिसकेको छ।

