नेपाल सुपर लिगमा साविक विजेता काठमाडौंको विजयी सुरुवात

काठमाडौं, ८ मंसिर । साविक विजेता काठमाडौं रेजर्स एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौंले स्पोर्टिङ इलाम एफसीलाई १-० गोलअन्तरले हराएको हो ।
काठमाडौंको जीतमा राजिव लोप्चनले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । राजिवले ५१औं मिनेटमा पोस्टनजिकै पाएको बललाई पोस्टको दिशा दिएका थिए । कर्नरबाट आएको बल गोलरक्षक विकेश कुथुले राम्ररी बचाउ गर्न नसक्दा राजिवले सजिलै गोलको अवसर पाएका थिए ।
खेल अवधिभर दुवै टोलीले राम्रा अवसरहरुको सदुपयोग गर्न सकेनन् । नवप्रवेशी टोली इलामले कुल १३ प्रहारमध्ये ३ प्रहार टार्गेटमा राखेको भएपनि गोल भने गर्न सकेन । यस जीतसँगै काठमाडौंले ३ अंक जोडेको छ ।
खेलअघि उद्घाटन समारोहमा सुशान्त केसी, प्रिज्मा-प्रिन्सी, वाङदेन लामा लगायतले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का प्रमुख अतिथि थिए भने सांसद सोविता गौतम, हरि ढकाल लगायत एन्फा र राखेपका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

