पोखराको खाल्सेमा जुवा खेलिरहेका ६ पक्राउ, हतियार पनि बरामद

पोखरा, ७ मंसिर । पोखराको खाल्सेबाट जुवा खेल्दै गरेका ६ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका २२ खाल्सेको चिसापानी बस्ने भेषबहादुर गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

कौडा खेलिरहेको सूचना पाएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो । जुवाखालबाट २४ राउण्ड गोली र हतियारमा लाग्ने म्याग्जिन १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुले सेन्सर जडान गरी सेन्सरलाईट एवं रिमोटबाट सञ्चालन हुने, डिजिटल प्रणाली प्रयोग गरी जुवातास खेल्ने गरेको भेटिएको छ । पक्राउ पर्नेमा भेषबहादुर सँगै पोखरा–१० अमरसिंहचोकका ३८ वर्षीय बलराम श्रेष्ठ, पोखरा–९ पृथ्वीचोका २८ वर्षीय सुरेन्द्र शाह, पोखरा–१५ रामबजारका दीपेन्द्र सेन, पोखरा–२६ विजयपुर बस्ने खम्बसिंह राना र बुढीबजारका सन्दिप भनिने डोरबहादुर गुरुङ छन् ।

जुवाखालबाट १६ थान कौडा, ८२ हजार ९९० नगद बरामद भएको छ । जुवा खेलाउनका लागि जमिनमा खाडल खनेर लाइनको तार जडान गरेको पाइएको छ भने त्यसमा सेन्सर मेसिन जोडिएको थियो । डिजिटल स्टेप्लाइजर, सेन्सर लाइट, तार, रिमोट लगायत बरामद भएको छ ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ८ दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय