अभियान निरन्तर चल्छ, भोलिदेखि मान्छे बढ्छन्: दुर्गा प्रसाईं

काठमाडौं, ७ मंसिर । व्यवसायी दुर्गा प्रसाईंले आजदेखि सुरु भएको ‘राष्ट्र बचाउ महाअभियान’ निरन्तर चलिरहने बताएका छन् । बिहिबार बेलुका पत्रकार सम्मेलन गर्दै प्रसाईंले अहिलेको व्यवस्था परिवर्तन नभएसम्म यस अभियान जारी रहने बताएका हुन् ।
त्यस्तै शुक्रबारदेखि यस अभियानमा सहभागी हुने व्यक्तिहरुको संख्या अझै् बढ्दै जाने समेत उनले बताए । ‘हामीले सबै उपत्यका बन्द गरेर आउन आह्वान गरेका छौं, व्यापार नभइरहेका बेला बरु यस अभियानमा साथ दिनुस्’, उनले भने ‘बाहिरबाट पनि मानिसहरु आउँदै छन्, अझ आउँछन्’ ।
अभियानको पहिलो दिन बिहीबार दिनभरजसो बल्खुमा प्रदर्शन गरेको सो समूहले भोलिबाट तीनकुनेमा प्रदर्शन हुने बताएको छ। पहिलो दिनको प्रदर्शनमा भएको झडपमा परी २६ जना घाइते भएको प्रसाईंले जनाएका छन् ।

