मध्यरातमा लखेटिए प्रसाईंका समर्थक, युवासंघ भन्छ- हाम्रो नाम बदनाम गरियो

काठमाडौं, ६ मंसिर । यतिबेला सामाजिक सञ्‍जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एक व्यक्तिले महिलाहरु भएको ठाउँमा गएर ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर ! तपाईंहरु ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरु उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौँ’ भनेको देखिन्छ ।

मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा भाग लिन  काठमाडौँ आएका सर्वसाधारणलाई नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटेको भन्दै चर्को आलोचना भइरहेको छ ।

महिलाहरूले बिन्ती गरेर उज्यालो भएपछि जान्छौं भनेर भन्दा पनि तुरुन्त फर्किन चेतावनी दिएको भिडियोमा प्रस्ट सुनिन्छ भने भिडियोमा ‘अब हामी सबैलाई काठमाडौँबाट लखेटेर देखाइदिन्छौँ । दुर्गा प्रसाई पागललाई फोन गरेर युवा संघले लखेट्यो भनेर भन्नुस्’ भनेर बोलेको सुनिन्छ ।

युवा संघका कार्यकर्ताले अमानवीय तवरले संवेदनहीन काम गरेको प्रसाईं समूहका व्यक्तिहरुले जनाएका छन् ।  महिलाहरू सुतिरहेको ठाउँमा पुगेर संवेदनहीन तवरले लखेट्नु अराजक भएको भन्दै यसको प्रतिवाद गर्ने उनीहरु बताउँछन् ।

युवा संघले भने प्रसाईं समर्थकहरूलाई आफूहरूले लखेट्ने काम नगरेको र युवा संघको बदनाम गर्न उक्त नाम लिइएको बताउँदै सत्यतथ्य निकाल्ने र युवा संघकै साथीहरू संलग्न देखिएमा कारबाही गरिने जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय