उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्‍न

काठमाडौं, ४ मंसिर । सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज विहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोर, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशय र अन्य स्थानमा पनि उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको हो ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

आइतबार साँझ दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसेका व्रतालुले सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरे ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय