चलचित्र ‘पशुपति प्रसाद-३’ बन्ने

रासस

काठमाडौं, ३ मंसिर । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ ।

‘पशुपति प्रसाद २ : भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो ।निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताए।

उनले चलचित्र धेरैले मन पराएकोले अर्को शृङ्खला पनि निर्माण गर्न लागिएको स्पष्ट पारे । उनले भने, “हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौँ । यद्यपि दोस्रो शृङ्खलाले उब्जाएका प्रश्नलाई सम्बोधन गर्न पनि घोषणा गरेका हौँ । यो आउँदो वर्ष नै प्रदर्शनमा आउँछ ।”

लेखक खगेन्द्र लामिछानेले तेस्रो शृङ्खला शीर्ष भूमिका निर्वाह गर्दै छन् ।“कथा लेखन र अभिनयमा मात्र म व्यस्त छु । दोस्रो शृङ्खलाको क्रममा चलचित्र भवन पुग्दा पशुपति प्रसाद कहिले हेर्न पाइन्छ ? भन्ने दर्शकले जिज्ञासा राख्नु हुन्थ्यो । त्यसैले हामीले यसलाई निरन्तरता दिने योजना अनुरुप घोषणा गरेका हौँ”, अभिनेता लामिछानेले भने।

रोजिना सिटौलाले निर्माण गर्ने उक्त चलचित्रमा शृङ्खलाका कलाकारसँगै नयाँ पनि थपिने उनले बताए। यसअघि यो समूहले ‘पशुपति प्रसाद’, ‘धनपति’, ‘पशुपति प्रसाद २ : भष्मे डन’ निर्माण गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय