
विश्वकप छनौटमा ब्राजिल र अर्जेन्टिनाको हार
काठमाडौं, १ मंसिर । फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटमा ब्राजिल र अर्जेन्टिनाले हार व्यहोरेका छन् । शुक्रबार विहान सम्पन्न खेलमा ब्राजिल कोलम्बियासँग तथा अर्जेन्टिना उरुग्वेसँग पराजित भएको हो ।


कोलम्बियाले ब्राजिललाई २-१ गोलअन्तरले हरायो । १-० को अग्रता अन्त्यसम्म जोगाउन नसक्दा ब्राजिल पराजित हुन पुग्यो । कोलम्बियाका लुइस डियाजले चार मिनेटमा दुई गोल फर्काएपछि कोलम्बियाले पुनरागमन जित निकाल्यो ।

खेलको चौथो मिनेटमा नै ग्याब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ७५औं र ७९औं मिनेटमा डियाजले गोल गर्दै कोलम्बियालाई शानदार पुनरागमन जीत दिलाए ।
त्यस्तै उरुग्वेले विश्वविजेता अर्जेन्टिनालाई २-० गोलअन्तरले हरायो । उरुग्वेको जीतमा डार्विन नुनेज र रोनाल्ड अराउजोले १ १ गोल गरे । खेलको ४१औं मिनेटमा अराउजोले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । खेलको ८७औं मिनेटमा नुनेजले गोल गर्दै २-० को जीत सुनिश्चित गरे ।
Comments

