छठ पर्व आजदेखि सुरु, आज नहाय खाय

काठमाडौं, १ मंसिर । सूर्यको पूजाआजा गरी मनाइने छठ पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।

पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् । त्यसलाई खरना भन्दछन् ।

खासगरी नेपालको तराई मधेशमा चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि लोकप्रिय हुँदै गएको छ।

भगवान् सूर्यको पूजाआराधना गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म विधिपूर्वक मनाइन्छ । छठको पहिलो दिनलाई अरबा–अरबाइन पनि भनिन्छ। व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ। छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।

छठ पर्व मनाउन यतिबेला पोखरी, नदी, तलाउ जस्ता पानीका स्रोत भएका ठाउँलाई सिंगार्ने, सफासुघ्र बनाउने, टेन्ट टाँग्ने क्रम सुरु भइसकेको छ।

काठमाडौंका विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय