विश्‍वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

काठमाडौं, ३० कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकप २०२३ अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदै छ । फाइनल प्रवेशका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै छन् ।

कोलकातास्थित इडेन गार्डेन्स क्रिकेट रङ्गशालामा दिउँसो सवा २ बजेदेखि सेमिफाइनल खेल सुरु हुने छ । दुवै टोली जीत निकाल्दै उपाधिको एक कदम नजिक पुग्‍ने सोचमा हुने छन् । दुवै टोलीले ९ मध्ये ७ खेल जितेर दोस्रो र तेस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।

सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग पराजित अस्ट्रेलिया त्यसपछिका सातवटै खेलमा अपराजित छ । पाँचपटकको विजेता अस्ट्रेलिया दक्षिण अफ्रिकालाई हराएर जीतलाई निरन्तरता दिन चाहन्छ ।

उता पहिलो विश्‍वकप जित्‍ने सोचमा रहेको दक्षिण अफ्रिकाको नकआउट चरणमा रेकर्ड त्यति राम्रो छैन । २०११ को विश्‍वकप क्‍वाटरफाइनल तथा २०१५ मा सेमिफाइनलमा न्युजिल्यान्डसङ्ग दक्षिण अफ्रिका पराजित भएको थियो । २०१९ मा भने समूह चरण पार गर्नै सकेन ।

यस विश्‍वकपमा दक्षिण अफ्रिकाले हारेका दुवै खेल लक्ष्य पछ्याउने क्रममा हारेका खेल थिए । पहिले ब्याटिङ् गर्दा भने उत्कृष्ट देखिएको छ । भारतसँग दक्षिण अफ्रिका ८३ रनमा अलआउट भएको थियो ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय