न्युजिल्यान्डलाई हराउँदै भारत १२ वर्षपछि विश्‍वकपको फाइनलमा

काठमाडौं, २९ कात्तिक । घरेलु टोली भारत १२ वर्षपछि आइसिसी क्रिकेट विश्‍वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्‍न सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनलमा पुगेको हो ।

भारतले दिएको ३९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ७ बल अगावै ३२७ रनमा समेटियो । भारतका लागि डारिल मिचेलले सर्वाधिक १३४ रन बनाएपनि जीतका लागि पर्याप्त हुन सकेन । त्यस्तै कप्तान केन विलियमसनले ६९ रन बनाए । ग्लेन फिलिप्सले ४१ रन बनाए ।

विलियमसन र मिचेलले १८१ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई खेलमा कायमै राखेपनि विलियमसन आउट भएपछि रनगति सुस्त हुँदा न्युजिल्यान्डले कीर्तिमानी जीत हासिल गर्न सकेन । भारतका लागि मोहम्मद शामीले ९.५ ओभरमा ५७ रन दिएर ७ विकेट लिए । त्यस्तै जसप्रीत बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले १ १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३९७ रनको विशाल योगफल खडा गरेको थियो । विराट कोहलीले कीर्तिमानी ५०औं शतक प्रहार गरेका थिए । कोहलीले एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरको ४९ शतकको रेकर्ड तोडेका हुन् । उनले ११७ रन बनाए ।

श्रेयस अय्यरले १०५ रन बनाए । शुभमन गिल ८० रनमा अविजित रहे । न्युजिल्यान्डका टिम साउथीले १० ओभरमा १०० रन दिएर ३ विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्टले १० ओभरमा ८६ रन दिएर १ विकेट लिए ।

यस जीतसँगै अपराजित रहेको भारत उपाधिबाट एक कदम मात्र टाढा रहेको छ । अब बिहिबार अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ र विजेताले उपाधिका लागि भारतसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय