विश्‍वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारत र न्युजिल्यान्ड खेल्दै

काठमाडौं, २९ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकप २०२३ अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै छ । फाइनल प्रवेशका लागि भारत र न्युजिल्यान्ड खेल्दै छन् ।

मुम्बईस्थित वाङ्खडे क्रिकेट रङ्गशालामा दिउँसो सवा २ बजेदेखि सेमिफाइनल खेल सुरु हुने छ । दुवै टोली जीत निकाल्दै उपाधिको एक कदम नजिक पुग्‍ने सोचमा हुने छन् ।

भारत यस विश्‍वकपको समूह चरणमा अपराजित रहने एक्लो टोली हो । ९ मध्ये ९ खेल नै जितेर भारत शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो । भारत यसपटक सबैभन्दा उच्च फर्ममा देखिएको छ ।

उता सुरुवाती चार खेल जितेर उत्कृष्ट सुरुवात गरेको न्युजिल्यान्ड त्यसपछिका चार खेलमा पराजित हुँदा अन्तिम खेल जितेर सेमिफाइनलमा पुगेको थियो ।

नकआउट चरणमा भारतको रेकर्ड त्यति राम्रो छैन । २०११ को विश्‍वकपम विजेता भारत २०१५ मा सेमिफाइनलमा अस्ट्रेलिया तथा २०१९ मा न्युजिल्यान्डसँगै पराजित हुँदै बाहिरिएको थियो ।

२०१९ को विश्‍वकप सेमिफाइनलमा वर्षाका कारण दुई दिन खेलिएको खेलमा न्युजिल्यान्डले भारतलाई १८ रनले हराएको थियो । २४० रनको लक्ष्य पछ्याएको भारतले ५ रनमै ३ विकेट गुमाएको थियो भने ९२ रनमा ६ विकेट गुमाएपछि धोनी र जडेजाले सम्हालेका थिए । यद्यपि अन्त्यतिर दुवै ब्याटर आउट भएपछि भारत पराजित हुन पुगेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय