पर्यटन प्रवर्द्धन गर्न विदेशी पर्यटकलाई ‘भाइटीका’

पोखरा,२७ कार्तिक। ‘संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं’ भन्ने नारा साथ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यही कात्तिक २९ गते १६ औं भाइटिका महोत्सव २०८० आयोजना गर्ने भएको छ ।

पोखराको लेकसाइड स्थित होटल ल्याण्डमार्कमा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरुविच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्धेश्य पनि महोत्सवले लिएको छ ।

कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले पर्यटन पुनरुत्थानमा समेत महोत्सवले सघाउने विश्वास व्यक्त गरे । संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सवलाई निरन्तरता दिइएको महोत्सवका संयोजक एवं संघका सचिव पार्वता पाण्डेले जानकारी दिइन् ।

महोत्सवमा विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्याएर समेत टिका लगाउन आउने अपेक्षा गरिएको उनले सुनाइन् । यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको र यसले पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुगेको संघले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय