भुकम्पमा राजनीतिक पार्टी र ब्यक्तिको सहयोग १३ करोड
एमाले र रास्वपाले सरकारी कोषमा दिएनन्
काठमाडौं, २७ कात्तिक । अघिल्लो साता जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पले क्षेती पुगेका रुकुम पश्चिम र जाजरकोटका पीडितलाई सहयोग गर्न राजनीतिक दलहरू समेत अग्रसर देखिएका छन् ।
भुकम्पमा परेकालाई राहत दिन सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी,नेपाल समाजवादी लगायत दलले केन्द्र र जिल्ला तहबाट झन्डै ३ करोड सहयोग गरेका छन् । तर,सरकारमा नरहेका नेकपा एमाले र रास्वपा सहित केही दलले भने आफैं बाढ्ने भन्दै सरकारी कोषमा रकम दिएनन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले ५० लाख र नेपाली कांग्रेसले ५० लाख तथा एकीकृत समाजवादीले २५ लाख र नेपाल समाजवादी पार्टीले १० लाख जम्मा गरिसकेका छन् ।
नेकपा माओवादी केन्द्रिय सदस्य एवं कार्यालय सचिव डोरप्रसाद उपाध्यायले पार्टीको आन्तरिक स्रोतबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकका लागि सहयोग गरिएको बताए ।
अर्को सत्तारुढ दल नेपाली कांग्रेसले पनि जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ५० लाखको चेक हस्तान्तरण गरे ।
यसैगरि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेकपा समाजवादीको २५ लाख र डा.बाबुराम भट्टराई नेतृत्वको नेसपाले १० लाख जम्मा गरेका छन् । दल तथा ब्यक्तिको गरि कोषमा अहिलेसम्म करिव १३ करोड रकम जम्मा भएको छ ।
ब्यक्तिगत रुपमा भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङले १ करोड ११ लाख दिएका छन् । यसैगरी विभिन्न संघ संस्थाले पनि ५१ हजारदेखि १ करोड सम्म सहयोग गरेका छन् ।
त्यसैगरी चौधरी ग्रुपले चाउचाउ,बुद्ध एयर प्रालिद्वारा संचालित आरजु राइसले चामल तथा गोल्ड स्टार जुत्ता कम्पनले जुत्ता सहयोग गरेको छ।

