तिहारमा ४५ करोडको झिलिमिली बत्ती !

काठमाडौं,२६कार्तिक। नेपालीको दोस्रो ठूलो चाड तिहारलागेसँगै घर तथा ब्यापारीक महलमा झिलिमिली बत्ती झुन्डिएको देखिन्छ।

नेपालमा उत्पादन नभै सिधै चीन तथा भारतबाट आउने यस्ता झिलिमिली बत्तीको व्यापार राम्रो छ। झिलिमिली बत्ती आउन थालेपछि माटोको दियो र मैनबत्तीको व्यापार समेत घट्दै गएको छ। प्राप्त जानकारी अनुसार यसबर्षको तिहारमा झन्डै ४५ करोडको झिलिमिली बत्ती नेपाल भित्रीएको छ। तर,यसबर्ष आर्थिक संकट र अन्य कारणले आयात भएअनुसार बजारमा झिलिमिली बत्तीको माग नभएको व्यवसायीहरूको गुनासो छ।

तिहारलाई उज्यालो पर्वको रुपमा लिइनेहुँदा झिलिमिली बत्ती बालेर उज्यालो बनाउने पुरानै चलन हो। त्यसैले पनि तिहारमा झिलिमिलि बत्तीसंगै सयपत्री, मखमली, गोदावरी फूल र दियो बत्तीको पनि ब्यापार हुने गरेको छ।झिलिमिलि बत्ती विशेषगरी चीन र भारतबाट आयात हुने गरेको तथ्यांकले देखाउछ। स्रोतका अनुसार झन्डै ९० प्रतिशत बत्ती चीनबाट र बाँकी भारतबाट आयात हुने गरेको छ।

केही वर्ष अगाडिसम्म माटोको दियो र मैनबत्ती बालेर तिहारमा झिलिमिली बनाउने गरिन्थ्यो । तर,अहिले देशमा पर्याप्त विद्युत उपलब्ध भएसँगै विद्युतीय बत्तीहरूको प्रयोग पनि बढ्दै गएको हो।

तिहारको लागि गत वर्ष ३६ करोड बराबरका विद्युतीय दियो, मालाबत्तीलगायत झिलिमिली बत्तीहरू आयात भएकोमा यो वर्ष १० प्रतिशतले वृद्धि भएर लगभग ४० देखि ४५ करोड रुपैयाँ बराबरको बत्ती आयात भएको विद्युतीय व्यवसायी महासंघको भनाइ छ।
यस वर्षको तिहारका लागि करिब ४५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको ब्यबसायीहरुको अनुमान छ।विशेषगरी तिहारमा लक्ष्मीपूजाको दिनसम्म झिलिमिली बत्तीको व्यापार हुने गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय