आज लक्ष्मीपूजाको साँझ १३९७ मेगावाट विद्युतको पिक डिमान्ड

काठमाडौ,२६कार्तिक। आज लक्ष्मी पूजाको दिन साँझ एक हजार ३९७ मेगावाट बिजुली उच्च माग (पिक डिमान्ड) पुग्ने प्रक्षेपण गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणले गत वर्षको लक्ष्मी पुजाको दिनको तुलनामा यसबर्ष ९२ मेगावाट पिक डिमान्ड बढ्ने प्रक्षेपण गरेको हो।गत वर्ष १ हजार ३०५ मेगावाट डिमान्ड थियो। अहिले सार्बजनिक बिदा भएकोले र चाड परेको कारण सबैजसो ठुला कलकारखाना बन्द छन्। व्यावसायिक भवनहरूमा पनि बिजुली खपत हुँदैन।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्-‘यो समयमा धेरै ठूलो लोड नबढ्ने भएका कारण माग अनुसारको व्यवस्थापन सहजै गर्न सकिन्छ। झिलिमिली बत्ती र अन्य लाइटिङ लोड कति नै हुन्छ र?‘

घिसिङले मातहतका सबै निकाय र कर्मचारीलाई लक्ष्मी पूजाको दिन कुनै समस्या नआओस् भनेर ‘अलर्ट’ रहन निर्देशन समेत दिएको बताए।’लक्ष्मी पूजाको लागि सबै तयारी गरेर पर्याप्त बिजुली दिन प्राधिकरण तयारी अवस्थामा छ’ घिसिङ भन्छन्-‘प्रसारणलाइन सट डाउन गरेर प्राधिकरणले मर्मत र स्तरोन्नतिको काम भइरहेका थिए। ती सबैको काम रोकिएको छ।’

उनका अनुसार खिम्तीदेखि लामोसाँघुसम्मको लाइन बन्द गरेर मर्मत र कन्डक्टर फेर्ने काम भैरहेको थियो तर,तिहारका लागि त्यो लाइन जोडिएको छ।’हामीले यस्तो समयमा गुनासो नआओस भनेर वैकल्पिक व्यवस्था गर्नैपर्छ। सिंगल लाइन हुँदा ट्रिपिङ हुने समस्या हुन्छ। हामीले वैकल्पिक व्यवस्था गरेका छौं‘ उनले भने।

स्मरणीय कुरा के छ भने आजभन्दा सात वर्ष पहिले अर्थात् २०७३ को लक्ष्मी पूजाकै दिनबाट १८ घण्टासम्मको लोडसेडिङ अन्त्य भएको थियो। त्यो बेला प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ थिए। परीक्षणका रूपमा उनले लक्ष्मी पूजालाई छानेका थिए। यही दिन नेपालमा बिजुलीको माग सबैभन्दा धेरै हुने गरेको थियो। उनको व्यवस्थापन सफल भएपछि कुलमानको चर्चा चुलिएको थियो।

नेपाल विद्युत् प्राधिकरणको तथ्यांक अनुसार अहिले समग्र सिस्टमको पिक डिमान्ड एक हजार ९८५ मेगावाट रहेको छ। जसमा नेशनल पिक डिमान्ड एक हजार ५६७ मेगावाट रहेको छ। औद्योगिक लोड घटेसँगै नेशनल पिक डिमान्ड पनि घटेको छ। प्राधिकरणका अनुसार केही दिन पहिलेसम्म एक हजार ७०० मेगावाट नेशनल पिक डिमान्ड थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय