भरतपुर महानगरले भूकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने

चितवन, २० कात्तिक । चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

आइतबार बसेको महानगरको ८७ औँ कार्यपालिका बैठकले भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग गर्ने उद्देश्यले सहयोग गर्ने निर्णय भएको जानकारी दिइन्।

महानगरका जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट सहयोग संकलन गरेर एक करोड रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्न लागिएको हो।

भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्ययान्न सहयोगका लागि महानगरले सम्पूर्ण भरतपुरबासीमा आह्वान समेत गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय