नेपाललाई सुपर ओभरमा स्तब्ध पार्दै ओमान च्याम्पियन
प्रतिक भट्ट
काठमाडौं, १९ कात्तिक । नेपालमा सम्पन्न आइसिसी टी-२० विश्वकप एसिया छनौट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । आइतबार भएको फाइनल खेलमा ओमानले नेपाललाई सुपर ओभरमा हराउँदै उपाधि जितेको हो ।
निर्धारित २० ओभरमा दुवै टोलीले १८४ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा अविनाश बोहराको बलिङमा ओमानले २१ रन बनाउँदा नेपालले बिलाल खानको बलिङमा १ विकेट गुमाएर १० रन मात्र बनाउन सक्यो ।
त्यसअघि नेपालले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको ओमानले पूरा २० ओभरमा ८ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । ओमानका ओपनर कश्यप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रन बनाए । त्यस्तै आकिब इलियासले ३३ तथा कप्तान जिशान मकसुदले २६ रन बनाए । मोहम्मद नदिम २४ बलमा अविजित रहे ।

नेपालका सन्दीप लामिछाने र करण केसीले समान २ २ विकेट लिए भने सोमपाल कामी, अविनाश बोहरा, गुल्शन झा र बिबेक यादवले १ १ विकेट हात पारे ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो ।
नेपालका लागि गुल्शन झाले विस्फोटक ब्याटिङ गर्दै २० बलमै अर्धशतक प्रहार गरे । उनले ५४ रन बनाए भने कप्तान रोहित पौडेल ५२ रनमा अविजित रहे । कुशल भुर्तेलले ३१ रन बनाए ।
ओमानका लागि बिलाल खानले ४ ओभरमा २६ रन दिएर ३ विकेट लिए । त्यस्तै आकिब इलियासले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । कप्तान जिशान मकसुदले ४ ओभरमा २७ रन दिएर १ विकेट लिए ।
दुवै टोली आगामी वर्ष हुने टी२० विश्वकपमा छनौट भइसकेका छन् ।


